हेर्नुहोस्, तेह्रथुम जिल्लाको लसुने र सदरमुकाम म्याङ्गलुङ बजारको सुन्दर दृष्य

तेह्रथुम जिल्लाको सेरोफरो

तेह्रथुम जिल्लाको सेरोफरो
– के.वि. मसाल
तेह्रथुम नेपालको पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने एक पहाडी जिल्ला हो । बि.स.२०१८ सालभन्दा अगाडी तेह्रथुम,धनकुटा, संखुवासभा र ताप्लेजुङ एउटै जिल्लामा पर्दथियो । त्यसको गौडा अर्थात प्रशासनिक केन्द्र धनकुटामा राखिएको थियो । प्राकृतिक १७ वटा वरपरका थुम्काहरु मध्येका १३ वटा थुम्काहरुलाई मिलाएर जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम थुम्काहरु यो जिल्लामा पर्दछन । यो भौगोलिक हिसाबले अलि विकट भएपनि यो जिल्ला प्राकृतिक दृष्टिकोणले रमणिय मानिन्छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तेह्रथुम जिल्ला पूर्वमा पाँचथर जिल्ला, पश्चिममा धनकुटा जिल्ला, उत्तरमा ताप्लेजुङ जिल्ला र संखुवासभा जिल्ला दक्षिणमा धनकुटा जिल्ला र पाँचथर जिल्लाको बिचमा तेह्रथुम जिल्ला पर्दछ । तेह्रथुम जिल्लाको कुल क्षेत्रफल ६७९ वर्ग किलोमिटर रहेको छ । जिल्लाको सबैभन्दा होचोस्थान सामुन्द्रिक सतह देखि ३५४ मिटर र सबैभन्दा अग्लोस्थान २,९६३ मिटर रहेको छ ।

नेपाली भाषामा थुम भन्नाले डाँडो ढिस्को वा थुम्को भन्ने बुझिन्छ र यस जिल्लामा तीनजुरेका तीन वटा डाँडाहरूबाट गन्दै जाँदा थला डाँडासम्म १३ वटा थुम्काहरू भएका कारण यसको नाम तेह्रथुम रहेको हुन सक्ने देखिन्छ । पहिले यो ठाँउमा १७ वटा थुम रहेकोमा प्रशासकीय सुविधाका लागि त्यसलाई विसं १९५२ मा १३ वटा थुम अलग्याई मालपोत उठाउन छुट्टै प्रशासकीय एकाइ स्थापना गरिएकोले यसलाई तेह्रथुम भनियो । लिम्बुवान राज्यको रुपमा जति बेला यो एक सशक्त राज्य थियो । राज्यको कर असुल गर्ने स्थानहरु वा किपट प्रथा अनुशार यसलाई १३ वटा थुमहरुमा विभाजन गरी तिरो उठाउने कार्यलाई सहज बनाइएको थियो । यसरी बिभाजन भएको १३ वटा तिरो बुझ्ने थुम अर्थात स्थानहरु पछि गएर जिल्लाको नामाकरण नै तेह्रथुम भएको तर्क पनि यहा पाइन्छ ।

म्याङलुङ्ग बजार तेह्रथुम जिल्लाको सदरमुकाम हो । विषेश गरेर लिम्बु जातीको बाहुल्यता रहेको तेह्रथुम जिल्लामा सदरमुकाममा भने बढि मात्रामा नेवार जातीहरु बसोबास गर्ने गर्छन । विराटनगर, धरान, धनकुटा, हिले, बसन्तपुर, लसुने हुँदै म्याङलुङ्ग बजार सम्म पुग्नको लागि स्थानिय बस वा ट्याक्सीको माध्यम बाट जान सकिन्छ । यहाँ सम्मको यात्राको क्रममा बाटोमा विभिन्न प्राकृति मनोरम दृश्यहरु, लालिगुराँस, तिनजुरे डाँडा तथा मकालु, कन्चनजंगा, कुम्भकर्ण लगायतका हिमालहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ भने म्याङलुङ्ग बजार भित्र रहेका सिंहवाहिनी मन्दिर र पाथिभरा मन्दिरले यस बजारको सोभा झन बढाएको छ । साथै यहाँको अर्को मुख्य विशेषता भनेको ढाका कपडा हो जुन तेह्रथुमे ढाकाको नाममा प्रसिद्ध रहेकोछ ।

म्याङलुङ्ग बजारको नामाकरणको वारेमा पनि एउटा रोचक प्रसंग छ । लिम्बू भाषामा म्याउँको अर्थ बिरालो र लुङ्गको अर्थ ढुङ्गा हुन्छ । म्याउलुङबाट अपभ्रंश भई म्याङलुङ भएको स्थानीय बूढापाकाहरूको भनाइ छ । प्रचलित लोककथा अनुसार धेरै पहिले डाँडाको एक चौतारामा दुई ढाक्रे बास बस्न पुगेछन्। । रातको समयमा खाना पकाउन ढुङ्गा खोजी चुलो बनाएर खाना पकाउन लाग्दा आगोको तापसँगै उक्त ढुङ्गा काँप्न थाल्यो । ढुङ्गा निकै तातेपछि काँप्दै लड्न पुग्यो र उनीहरुको खानासमेत पोखियो । रिसको झोकमा उनीहरुले सो ढुङ्गामा तरबार प्रहार गरे, तरबार प्रहारका क्रममा ढुङ्गाबाट म्याउँको आवाज आएको र त्यसबाट रगत समेत बगेका कारण ढाक्रेहरु डराएछन्। । उनीहरुले यो कुरा स्थानीय बासिन्दाहरुलाई सुनाए । उक्त घटना सुनिसकेपछि गाउँलेहरुले अब अनिष्ट हुने भयो भनी सो ढुङ्गालाई बाजागाजासहित हालको म्याङलुङ बजारको मध्यभागमा रहेको चौताराको वरको रुखको फेदमा स्थापित गरे । त्यहाँ पूजाआजा गर्ने, भाकल गर्ने र बलि चढाउने चलन अहिले पनि छ ।

पृथ्वीनारायण शाहको एकिकरण अभियानको लागि पूर्व क्षेत्रमा आएका अभिमान सिंह बस्नेत नेतृत्वको गोर्खाली सेनाले खुम्बुवान क्षेत्रमा विजय गरेपछी वि.सं.१८३१ मा गोर्खाली सैन्यका रामकृष्ण कुँबरलाई लिम्बुहरुले चैनपुरमा बालाई मेलमिलाप गरी आफूहरु नेपाल सरकारको आश्रयमा बस्न स्वीकार गरेको इतिहास छ । लिम्बुवान क्षेत्र नेपालमा समावेश भई सकेपछि गोर्खालीले लिम्बुहरुको रितिथिति तथा अन्य सामाजिक व्यवस्थामा खलल नगर्ने वचन दिएका थिए । लिम्बुवानमा प्रचलित स्थिति अनुसार किपटको अमाल प्रथा यथावत थामियो । किपटको राजीनामा नहुने भयो । यहाँका सुब्बाहरुलाई पञ्चखत वाहेक अन्य मुद्दा मामिलाहरु हेर्ने र मुठी मुग्रे गरी दण्ड जरिवाना समेत गर्न पाउने अधिकार हुने गरी पृथ्वीनारायण शाहबाट लालमोहर भएको थियो । अव सत्रथुममा रहेको लिम्बुवान क्षेत्रको धनकुटा गौडा अन्तरगत रही तिरो भरो धनकुटा गौडामा बुझाउनु पर्ने भयो । पछि बिक्रम संबत १९५२ सालमा सत्रथुम मध्ये मित्लुङ्ग पहाड, जलहरा, बेलहरा, र छथर थुम धनकुटामा रही बाँकी आठराई, फेदाप, याङ्गरुप, पाँचथर, ताप्लेजुङ्ग, मेवाखोला, माईखोला, तमोर खोला, पाँचखप्पन, दशमझिया, चैनपुर, सभाउत्तर र संखुवा उत्तर गरी तेह्र ९१३० थुमको तिरो उठाउने गरी तेह्रथुम मालको स्थापना भयो ।

बि.सं.२०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लाहरुमा विभाजन गरिंदा तेह्रथुम माल अन्तरगत पर्ने क्षेत्रलाई ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा र तेह्रथुम गरी चारवटा जिल्लामा बिभाजन गरियो । १३ वटा थुमहरु मध्ये यस जिल्लामा आठरााई,फेदाप, माईखोला र साविक धनकुटा जिल्लामा रहेको छथर थुमको पूर्र्वी भाग मात्रको क्षेत्रफल कायम रहे पनि साविक तिरो उठाउने माल अड्डा यसै जिल्लाको क्षेत्रमा परेको हुँदा यो जिल्लाको नाम पनि तेह्रथुम रहन गएको इतिहास छ । बि.सं.२०१८ साल पछि यस जिल्लामा कायम भएका ४२ गाउँ पञ्चायतहरु मध्येबाट तांखुवा र परेवादिन दुई गाउँ पञ्चायतहरु धनकुटा जिल्लामा गाभिन गएको थियो । भने निगुरादिन, फूलवारी, हाङ्गपाङ्ग, चांगे गरी ४ वटा गाउँ पञ्चायतहरु आठराई थुम अन्तरगत क्षेत्रबाट र ढुंगेसाँघु, साँघु, फाकुम्वा, थिंलावु ४ वटा गाउँ पञ्चायतहरु माईखोला थुम क्षेत्रबाट ताप्लेजुङ जिल्लामा गाभिएको थियो । यसरी हालको तेह्रथुम जिल्लामा आठराई, फेदाप र छथर थुम क्षेत्र अन्तरगत पर्ने बाँकी क्षेत्रहरुमात्र रहेको छ । तत्कालिन १३ वटा थुमहरुको प्रशासकीय केन्द्रको रुपमा रहेको तेह्रथुम जिल्लालाई हाल राजनैतिक रुपमा ३२ गाविसमा बिभाजन गरिएको छ ।

तेह्रथुम जिल्लाकोे मुख्य पर्यटकिय आकर्षण स्थलहरुमा तीनजुरे हिमाल, नेपालकै सबै भन्दा अग्लो हृयातुङ झरना र पट्टेक डाँडा प्रख्यात स्थल मानिन्छ । बसन्तपुरबाट ३ कि.मी. पश्चिममा फुलेक ग।विस मा पर्ने पट्टेक डाडाँ १ घण्टाको पैदल यात्रामा पुगिन्छ । समुन्द्र सतहदेखि २५०० मीटरको उचाईमा पर्ने पट्टेक डाडाँ सूर्योदय र सूर्यास्तको लागि प्रसिद्ध छ । त्यसैगरी सोल्माको चिया बगान, र बसन्तपुर पनि पर्यटनहरुको लागी आकर्षण गनतब्य स्थल पर्छन । नेपालकै गुराँसको राजधानीकारुपमा परिचित तेह्रथुममा नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये तिनजुरे, मिल्के र जलजले टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन्। । मुख्य पर्यटकिय गतिबिधिहरुमा पदयात्रा, कन्चनजङघा र मकालु हिमालको रमणीय दृश्यावलोकन, तीनजुरे डाँडाबाट प्याराग्लाईडिङको उडान, तीनजुरे र मेन्छ्यायाम डाँडाबाट सूयोदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।

हिउदको समयमा चिसोका कारण ताप्लेजुङको पाथिभरा देवीको मन्दिरमा भक्तजन जान असुबिधा हुने भएकोले तेह्रथुममा सहायक पाथिभरा देवीको मन्दिर निर्माण भएको छ । ताप्लेजुङ्गको उच्च पहाडी क्षेत्रमा रहेको पाथिभरा देवीको मन्दिर क्षेत्रमा हिमपात र चिसोका कारण भक्तजन जान नसक्ने भएपछि तेह्रथुमको तिनजुरे क्षेत्र धनकुटाको भेडेटारमा रहेको सहायक पाथिभरा देवीको मन्दिरमा भक्तजनहरु पुग्ने गर्दछन । पछिल्लो समय पाथीभरा देवीको मन्दिर अन्य जिल्लाहरुमा पनि निर्माणहुन थालेका छन । तर पनि इलाम धनकुटा तथा तेह्रथुममा रहेका पाथिभरा देवीको मन्दिर मध्ये ताप्लेजुङमा रहेको मन्दिरलाई मुख्य मान्ने गरिन्छ । तेह्रथुम जिल्लामा प्राकृतिक सम्पदा मात्र नभएर पर्यटकहरुलाई अवलोकन अथवा दर्शन गर्न सकिने धार्मीक स्थलहरु समेत रहेका छन । सिंहवाहिनी मन्दिर म्याङ्लुङ सि मिना क्षीं जिरीखिम्ती, छातेढुङ्गा, गौखुरी माता मोराहाङ, सिद्धदेवी सोल्मा, जलकन्यादेवी सोल्मा, रातपोखरी तीनजुरे,शिवमन्दिर दांगपा, पाचकन्या देवी फाक्चामारा,भगवती मन्दिर सक्रान्ति बजार,शिवालय मन्दिर जलजले, तमु बौध गुम्बा रहेका छन ।

तेह्रथुमको तिनजुरे, संखुवासभाको मिल्के र ताप्लेजुङ्गको जलजले गरी तिन जिल्लाका तिन क्षेत्र मिलाई यस क्षेत्रलाई तिनजुरे मिल्के जलजले संरक्षित वन क्षेत्र बनाइएको हो । यो क्षेत्र समुन्द्री सतहबाट करिब १७ सय देखि ५ हजार मिटरको उचाइमा पर्दछ । यस क्षेत्रसँग तेह्रथुमका १२, संंखुवासभाका ७ तथा ताप्लेजुङका ६ गरी जम्मा २५ गाविसमा फैलिएको छ । यस क्षेत्रमा ६९ वटा सामुदायिक बन उपभोक्ता समुहहरु समावेश भएका छन । लालीगुराँस संरक्षित बनमा मात्र ६२ वटा सामुदायिक बन समुह रहेको छ । जल सम्पदाको धनी जिल्ला हो तेह्रथुम । ह्यातुङ झरना तेह्रथुम जिल्लामा रहेको प्रख्यात पर्यटकीय स्थल पनि हो । एसियाकै अग्लो भनिएको झरनाको उचाई ३६५ मिटर रहेको छ । यो झरना नेपालकै सबैभन्दा अग्लो हो भने विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरुमा पर्दछ । ह्यातुङ झरना सदरमुकाम म्याङलुङ देखि ९ कोष अर्थात २९.७ कि.मि.उत्तरमा सम्दु र इसिबु गाविसमा पर्दछ । सदरमुकाम देखि करिव एक दिन पैदल यात्रामा यो झरना पुग्न सकिन्छ । सप्तरंगी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरि माथि बाट बेगले तल झरेको देखिन्छ । तेह्रथुम जिल्लाको सबै भन्दा ठूलो नदी तमोर हो । जिल्लाको पूर्वी सिमानको रुपमा तमोर नदी बगेको छ । यसले पाँचथर जिल्लाबाट यस जिल्लालाई छुट्टयाएको छ । यस जिल्लामा बग्ने अन्य नदीनाला तथा खोलाहरुमा खोरङ्गा खोला, पिगुवा खोला, लम्बु लिम्बु खोला, कोया खोला, तेलिया खोला, फाकचुवा खोला र हिउँदिया खोला प्रमुख छन । त्यसैगरी मुख्य पोखरीहरुमा मार्गा पोखरी, चिचिलिङ पोखरी, छातेढुङ्गा, इवा, सक्रान्ति पर्दछन ।

तेह्रथुम जिल्लामा लामो–छोटो दूरीका बनिसकेका सडकको संख्या ७० भन्दा बढी छ । अरु निर्माणाधीन छन । ३२ गाविस रहेको यस जिल्लामा सडक निर्माण हुने योजनाहरु तयारीमा छन । सडक निमार्ण र विकासको लागी गुरुयोजन ाबनेको छ । ग्रामीण क्षेत्रबाट सदरमुकाम जोड्ने र मुख्य राजमार्ग सम्म सडक सञ्जाल पु¥याएर ग्रामीण बजार भएर आएका, पर्यटकीय, व्यापारिक, कृषि तथा सबै भूगोललाई जोडने गुरुयोजना बनाइएको छ । तेह्रथुम जिल्लालाई जोड्ने वसन्तपुर–म्याङ्लुङ सडक सुधार हुन लागेको छ । यो बाहेक छिमेकी जिल्ला संखुवासभा र ताप्लेजुङ, आठराई–चुहानडाँडा सडकले पाँचथर तथा सिंधुवा शुक्रबारे सडकले धनकुटा जिल्ला सँग पनि सडक सञ्जाल विस्तार भएको छ । सडक सञ्जालको विस्तारसँगै एक जिल्लाबाट अर्को जिल्ला आवागमनमा समेत सजिलो भएको छ । पूर्वी पहाडको बढ्दो सडक सञ्जालकै कारण आजभोलि तराई र अन्य शहरीक्षेत्रमा बसाइँ सर्ने क्रम घट्दैछ । परम्परागतका गाउँले बजार तीव्र गतिले शहरोन्मुख भएका छन्। । गाउँघर सडक बिकासले गर्दा धेरै परिवर्तन हदै गएका छन । जिल्लाका मुख्य उत्पादन अलैची, अम्रिसो र चिराइतोले बजार पाएको छ । जसले गर्दा सामान्य किसानको पनि जीवनस्तर फेरिएको छ । ग्रामीण सडक गाउँ–गाउँमा विस्तार भएपछि दैनिक उपभोग्य सामग्रीसमेत सलभ हुन थालेको छ । गाउँघरका परमपरागतका काठेघरलाई क्रंकिट भवनले विस्थापित गर्न थालेको छ । रड, सिमेन्ट र स्थानीय निर्माण सामग्रीको बजार फैलदो छ । सडक निर्मा भएपछि फिदिमबाट संक्रान्ति र त्यहाँबाट म्याङलुङ यातायात चल्न थालेको छ । यसले कुनै बेला नुनसँग साटिने अम्रिसो नगदे बाली बन्न पुगेको छ ।

पहाडी धरातल, देख्दा सानो तर प्रकृतिले सजाएको सुन्दर जिल्ला हो– तेह्रथुम । क्षेत्रफल, जनसंख्या र आर्थिक कारोबार कम भए पनि तेह्रथुमको भविष्य उज्ज्वल देखिन्छ । नगदेबाली उत्पादनमा अगुवा इलामले जसरी आलु, अदुवा, अम्लिसो, अलैची, ओलन दूध मा ख्याति आर्जन गर्दै पाच अ को प्रसिद्धि पाएको छ । त्यसैगरी तेह्रथुमले पनि त्यसैको सिको गर्न थालेको छ । तेह्रथुममा विकासको क्रममा त अक्षरले ख्याती लिन थोलेको छ । तीनजुरे, तान राडीपाखी बुन्ने, तरकारी र तमोर नदीलाई लिएर अघि बढ्ने प्रयास तेह्रथुमले लिएको छ । तेह्रथुम जिल्ला सस्कृतिको धनि जिल्ला मानिन्छ । भौगोलिक, सांस्कृतिक, पर्यटकीय र सामाजिक दृष्टिकोणले तेह्रथुम महत्वपूर्ण मानिन्छ । जस्लेगर्दा तेह्रथुममा विभिन्न जातजातिको मौलिक संस्कृति र रहनसहन देख्न पाइन्छ । यहाँ लिम्बु, बाहुन, क्षेत्री, नेवार, तामाङ, राई, शेर्पा, मगर, गुरुङ, भुजेल, जोगी, माझी, सार्की, कामी, दमाई लगायतका जातीहरुको बसोबास छ । हावापानी अनुकूल हुदा तेह्रथुममा मौसमी र बेमौसमी तरकारी, फलफूल, अलैची, चिया, अदुवा, अम्लिसो, अकबरे खुर्सानी, बेसार जस्ता नगदेबालीको राम्रो उत्पादन हुन्छ ।

हेर्नुहोस्, नारायण कुमार राईले क्यामेरामा कैद गर्नुभएको तेह्रथुम जिल्लाको लसुने र सदरमुकाम म्याङ्गलुङ बजारको सुन्दर दृष्य



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖