नेपाललाई झट्का !, कप्तान पारस खड्का आउट
काठमाण्डौं, २५ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरेको छ ।
सुरूमै विकेट गुमाएको नेपालले १२औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको छ । ३५ बल खेलेका खड्काले १९ रन बनाएका थिए । विलियम्सको बलबाट आउट हुनअघि उनले २ चौका प्रहार गरेका थिए ।
यसअघि दोस्रो ओभरको पहिलो बलमा ओपनर दिलिप नाथ आउट भए । उनले सामना गरेको पहिलो बलमै आउट भएका हुन् ।
अहिले क्रिजमा उपकप्तान ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मी छन् ।
यसअघि नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । निर्धारित ५० ओभरको खेलमा नामिबियाले ३४।२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।
नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिएका थिए । सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले समान १–१ विकेट लिएका थिए ।


