सुँघेर र छामेर नै जाँचिन्छ सीमा नाकामा माछाको गुणस्तर ! : प्रविधिज्ञ भन्छन,- व्यापारको माल हो, रोक्नु पनि भएन

काँकडभिट्टा, १७ फागुन । पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् ।

अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रविधिज्ञले प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् ।

मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुनै पनि खाद्य वस्तुको विषादी चेक नगरी भित्रिन नदिनू’ भनेर उर्दी जारी गरे पनि नाकामा परीक्षणको पुरानै शैली कायम छ ।

काँकडभिट्टाबाट आयात हुने भारतीय माछा झापाको राजमार्ग छेउछाउ र मेची अञ्चलका पहाडी जिल्लाका अधिकांश बजारमा आपूर्ति हुने गरेको छ । तर ती माछा छाम्छुम् र सँुघसाँघबाहेक कुनै जाँच हुने गरेका छैनन् । यसबाट आयातित माछामा मिसाइने हानिकारक फर्मालिन जस्तो विषाक्त रसायनको जोखिम रहन्छ ।

फर्मालिन प्रयोग भएको माछा हेर्दा ताजा र राम्रो देखिने गर्छ । तर यस्तो रसायन मिसिएको माछा खाँदा मानिसलाई क्यान्सरलगायतका रोग लाग्ने सम्भावना हुने विज्ञहरु बताउँछन् ।

मेचीनगर माछा भित्रिने पूर्वका मुख्य नाका भएकाले फर्मालिन प्रयोग भएका र सडेका माछा भित्रिन नदिन काँकडभिट्टामा प्रयोगशाला स्थापना गर्न जरुरी देखिएको मेची सामुदायिक केन्द्र काँकडभिट्टाकी उपाध्यक्ष विना तामाङले बताउनुभयो ।

काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०७३÷७४ मा एक हजार ६७५ मेट्रिन टन माछा र ८३ मेट्रिन टन सिद्रा नेपाल भित्रिएको क्वारेन्टाइन चेक पोस्टले जनाएको छ ।

भारतबाट आउने माछाको मात्रा केही वर्ष घट्दै गएको भए पनि नेपाल माछा उत्पादनमा आत्मनिर्भर भने हुन सकेको छैन । “सँुघेर र छामेर जाँच्ने हाम्रो रहर होइन,” क्वारेन्टाइनका जाँचकी प्रविधिज्ञ रामसेवक यादव आफ्नो बाध्यता सुनाउँदै भन्नुभयो – “एउटा राम्रो ल्याब भइदिएको भए यस्तो गर्नुपर्ने थिएन ।”

वर्षेनी एक हजार ६०० मेट्रिनभन्दा बढी आयात हुने माछा जाँच गर्ने क्रममा काँकडभिट्टाको एनिमल क्वारेन्टाइन कार्यालयले एकपटक पनि गुणस्तरहीन भनेर रोकेको घटना छैन ।

“व्यापारको माल हो, रोक्नु पनि भएन,” प्रविधिज्ञ यादव भन्नुहुन्छ – “खराब भन्ने आधार केलाई मान्ने रु ल्याब भए पो प्रमाणित गर्नु” फर्मालिन जाँच्न हाल विराटनगर वा काठमाडौँस्थित क्वारेन्टाइनकै प्रयोगशालामा नमूना पठाउनु पर्ने र त्यसको दोस्रो विकल्प भएको कर्मचारी बताउँछन् ।

तर जाँच लागि एउटा नमूनाको रु ९०० तिर्नु पर्ने र पठाउन झण्झटिलो भएका कारण अहिलेसम्म छामेको र सुँघेकै भरमा स्वस्थताको प्रमाणपत्र जारी हुँदै आएको बताइन्छ ।

मेचीनगरका नगरप्रमुख आचार्यले नाकामा विषादी मिसाइएका माछालगायतका खाद्य वस्तुको आयात रोक्न दिएको निर्देशन पूर्ण पालना गर्न जनशक्ति थप्नुपर्ने र उच्च प्रविधिको प्रयोगशाला स्थापना गर्नुपर्ने बताउँछन् कर्मचारी ।

हाल चेकपोस्टमा एक अधिकृत र दुई प्रविधिज्ञसहित तीन जनाको दरबन्दी छ । भन्सार कार्यालय भवनको माथिल्लो तलामा इन्टरमोडलले भाडामा लगाएको कोठामा एनिमल क्वारेन्टाइनको चेकपोस्ट रहेको छ ।

मेचीनगरका नगरप्रमुख आचार्यले फर्मालिन मिसाइएको माछा भित्रिन नदिन कडा निर्देशन दिँदै आउनुभएको त छ तर, त्यो कुन हदसम्म लागू हुन्छ भन्ने जवाफ भने पाइँदैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।