संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा, भोलि पद तथा गोपनियताको सपथ लिने, रेशम चौधरी र नवराज सिलवालले के गर्लान ?
काठमाडौं । संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । सोमबार पहिलो बैठक बस्ने भएकाले आज सबै तयारी पूरा भएको संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण साँझ ५ बजेका लागि तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान पछि सोमबार दुबै सदनको बैठक बस्न लागेको हो । बैठकको अघिल्लो दिन दुवै सदनका सदस्यले सपथ ग्रहण गर्नेछन् ।
सांसदको सपथ ग्रहण अघि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादवलाई भोलि दिउँसो एक बजे सपथ गराउनुहुनेछ । यादव प्रतिनिधिसभाको पहिलो बैठकको सभामुख हुनुहुनेछ । यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको सपथ गराउनुहुनेछ ।
उहाँहरुले राष्ट्रपति भवन शीतल निवासमा सपथ लिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई सपथ गराउनुहुनेछ । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नभएसम्म उहाँहरुले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ ।
राष्ट्रियसभामा मनोनीत सदस्य डाक्टर युवराज खतिवडा, रामनारायण बिँडारी र विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरुको सपथ भने नहुने भएको छ ।
फौज्दारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबारे सम्बन्धित निकायबाट लिखित जानकारी नआएकाले उहाँहरु सहभागी भए सपथ हुने संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्यको व्यवस्था रहेको छ । यद्धपि राष्ट्रियसभाका ५६ सदस्यले मात्र सपथ लिनेछन् ।


