बैतडीमा घर, डडेल्धुरामा कर

बैतडी, २२ फागुन । बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् ।

बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् । विसं २०३२ भन्दा अगाडि त्यस क्षेत्र डडेल्धुरा जिल्लामा राखिएको हुँदा डडेल्धुरामा नै राजश्व बुझाउँदै आएको मेलौली नगरपालिका–८ का वडासदस्य प्रेमसिंह विष्टले बताउनुभयो ।

पछि सीमांकन गर्दा सुर्नया नदीलाई सीमाना बनाएर मेलौलीको विशालपुर क्षेत्र बैतडीमा गाभिएपछि जग्गाको नापी नहुँदा कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा तिर्न जानुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो “डडेल्धुरा जिल्लामा राजश्व बुझाउँदै आए पनि डडेल्धुराबाट सेवा सुविधा भने पाएका छैनौँ ” ।

मेलौली–८ का बासिन्दालाई घरजग्गा कारोबार, कित्ताकाटदेखि जग्गा पास गर्नसमेत डडेल्धुरा नै पुग्नुपर्ने बाध्यता छ । फरक भू–भाग भएकै कारण बैतडी र डडेल्धुराको सिमानामा विद्युत् भएपनि बैतडी बासिन्दाले विद्युत्को उपभोग गर्न नपाएको स्थानीय तपेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय बासिन्दाले बैतडी क्षेत्र ‘ख’ का प्रदेश सांसद लिलाधर भट्टलाई त्यस क्षेत्रको समस्याबारे जानकारी समेत गराएको बताएका छन् ।

आफूलाई विशालपुर बासिन्दाको समस्या थाहा हुने बित्तिकै नापी विभाग तथा जिल्ला नापी कार्यालयमा खबर गरेको र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँग छलफल गरेको सांसद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “समस्या समाधानका लागि पहल थालेको छु, छिट्टै समस्या समाधान हुन्छ ।”

जिल्लामा यो विषयमा पहिलोपटक खबर आएको र यो समस्या समाधानका लागि पहल थाल्ने जिल्ला नापी कार्यालय, बैतडीका प्रमुख नरबहादुर चन्दले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।