प्रचण्डले बाबुरामलाई भने,– लाज नमानी माओवादी केन्द्रमा फर्कनुहोस्

काठमाडौं, फागुन २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटालाई पार्टीमा प्रवेश गराएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पूर्वमाओवादी नेता देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए ।

स्थायित्व, समृद्धि र विकासको जनताको चाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान सुरु भएको उनले बताए ।

‘समाजवादमा जाने हो भने सबै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली–सक्कली बनेर हुँदैन । भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ’–उनले भने ।

अध्यक्ष दाहालले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई पनि पार्टीमा फर्कन आह्वान गरे ।

उनले भने–‘रेलको डिब्बा छाडेर इन्जिनमात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिनमात्रै कुदेर के हुन्छ ? जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगतबाहेक केही हुँदैन । अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्कनोस् ।’

माओवादी आन्दोलनका नेता–कार्यकर्ताले बाबुरामलाई माया गर्ने भन्दै उनले पार्टीमा पुनःमिलन हुन अनुरोध गरे ।

देशमा कम्युनिस्ट र दक्षिणपन्थीबीच ठूलो ध्रुवीकरण भइरहेको भन्दै उनले समृद्ध नेपाल निर्माणको ‘लडाइँ’मा केन्द्रित हुन सबैमा आह्वान गरे ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको पक्षमा विभिन्न किसिमले तर्क–वितर्क भइरहेको सन्दर्भ चर्चा गर्दै अध्यक्ष दाहालले जनताले एकताको पक्षमा आदेश दिएको बताए ।

‘पार्टी एकताकाबारेमा तर्क गर्न खोज्दा के भनौं, के भनौं भयो भने जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला । यो अवसरवादी तर्क होइन, सही तर्क हो’–उनले भने ।

कार्यक्रममा नयाँ शक्तिका प्रवक्ता तथा नेता खिमलाल देवकोटाले ‘बाबुरामजीको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठीक नभएको’ टिप्पणी गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।