गृहमन्त्री थापाले भेटे बलात्कृत बालिका, अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्यावस्थाबारे आज जानकारी लिएका छन्।
मन्त्री थापाले बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। गृहमन्त्रीले बालिकाको उपचारमा कुनै कमी नगर्न आग्रह गर्दै उनको उपचारमा सरकारबाट सहयोग हुने आश्वासन दिए।
गृहमन्त्रीले बलात्कारका घटना दोहोरिन नदिन मन्त्रालयले सुरक्षा निकायलाई विशेष पहल गर्न निर्देशन दिइसकेको जानकारी दिए। बलात्कारजस्तो जघन्य अपराधका घटनामा संलग्नलाई गरिने कारवाहीको दायरा अझ बढाउन आवश्यक रहेको बताउँदै अपराधीलाई चोख्याउन खोज्नेलाई पनि कारवाहीको दायरामा ल्याइने चेतावनी दिए।
गत हप्ता बलात्कृत ती बालिकालाई गत आइतबार ल्याएर सो अस्पतालमा उपचारमा राखिएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ। घटनामा अन्यको संलग्नताबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आफूहरुले मानवीयताका आधारमा पीडित बालिकाको निःशुल्क उपचार गरिरहेको जानकारी दिए। बलात्कारका कारण बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेकामा उपचारपछि क्रमिक सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। रासस


