मुलुकमा द्वन्द्व सिर्जना गर्ने उद्देश्यले स्वामीले आफूलाई गोली हान्न लगाएको आरोप, गोली हान्ने स्वामीका अंगरक्षक सार्वजनिक
विराटनगर, २४ वैशाख । हिन्दू धर्म कायम गर्न र धर्मगुरुहरूलाई उक्साई मुलुकमा द्वन्द्व सिर्जना गर्ने उद्देश्यले आफंैलाई गोली हान्न लगाएका अभियुक्त स्वामी श्रीनिवास आचार्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा गत चैत २५ गते विराटनगर–१४ जतुवामा श्रीमद्भागत सप्ताह पुराणका लागि आएका सुनसरी वहार नगरपालिका–६, चक्रघट्टी लक्ष्मी बैङ्कटेशन आश्रम बस्दै आएका आचार्यलाई आफ्ना अंगरक्षक रुपमा राखेका भरतपुर महानगरपालिका–४ का माधव चौधरीमार्फत गोली हान्न लगाएको आरोप लगाइएको छ । निज चौधरी स्वामी आचार्यसँग पुराण क्षेत्रमा साथै बसेका थिए । स्वामी आचार्य विराटनगरमा २१ दिनको उपचारपछि काठमाडाँै गएका थिए ।
प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले स्वामी आचार्यले नवलपरासी गैंडाकोट नगरपालिका–५ का लक्ष्मीराज अधिकारीलाई गोलीसहितको हतियार व्यवस्थापन गर्न लगाई गोली हान्ने मान्छे चौधरीलाई खोजी प्रशिक्षणसमेत दिई गोली हान्न लगाएको पत्रकार सम्मेलनमा बताउनुभयो । अभियुक्त चौधरी र अधिकारीले स्वामीको आदेशअनुसार हातमा गोली हान्नुपर्नेमा कुममा लागेको पत्रकार सम्मेलनमा बताएका छन् ।

धर्म गुरु स्वामी श्रीनिवास आचार्यलाई गोली हान्ने स्वामीका अंगरक्षक माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा आज सार्वजनिक गर्दै । अंगरक्षक द्वयले आचार्य स्वयंको निर्देशनमा धर्म गुरु आचार्यलाई गोली प्रहार गरेको थियो । तस्वीरः मनोज दाहाल, रासस विराटनगर


