असार १५ गतेभित्र बजेट कार्यान्वयनको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि आउँदो असार १५ गतेभित्र बुँदागत कार्ययोजना पेश गर्न सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरुलाई बोलाई उहाँले नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते) देखि नै पूर्णरुपमा बजेटको कार्यक्रम कार्यान्वयन हुने तयारी गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा सहभागी अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार प्रधानमन्त्री ओलीले नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि नवप्रवर्तक हिसाबले आवश्यक संरचना, कानून, मुख्य र सहायक निकाय, अनुगमन र उपलब्धिको परिसूचक तयार गर्न निर्देशन दिनुभएको थियो ।

यसरी तयार हुने योजनामा आगामी असार २५ गते प्रधानमन्त्रीसहितको बैठकमा प्रस्तुति गर्न पनि निर्देशन दिइएको छ । संघीय संसद्मा गत जेठ १६ गते बजेट प्रस्तुत भएको थियो ।

हरेक क्षेत्रमा सदुपयोग र साधन स्रोतको उपयोग गर्न सकिने भएकाले जनतालाई उनीहरुकै आरन र खेतहरुमा गएर व्यावसायिक शिक्षा र अवसर दिन सरकारले पहल गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई जनताले ठूलो भरोसा गरेका छन्, अब चलते चलाते होइन, आधुनिक युगलाई सामना गर्न सक्ने योजना र वातावरण तयार गर्नुपर्छ, निष्क्रियता र अनुत्तरदायीपन सह्य हुँदैन ।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार भ्रष्टाचारमा शून्य सहनशीलताको नीति दोहो¥याउने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई देश र जनताले प्रशस्त दिएको छ, लोभ नगारौँ, हामीलाई तलब, सुविधा छ, निजामती कर्मचारीलाई अवकाशपछि पनि पेन्सन छ, मान्छेले काम गरेर पनि तलब नपाउने वा काम नपाउने समस्या छ, त्यसैले कानूनबमोजिम र पारदर्शीरुपमा काम गर्नुस् ।”

उहाँले विभिन्न नियुक्ति, सरुवा र बढुवामा योग्यता र क्षमताबाहेक अरु चिज बोकेर कुद्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै चाकरी गर्नुको कुनै अर्थ नहुने बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले संघीयताबारे देखिएका कतिपय असन्तुष्टिलाई काम गरेर देखाएर जवाफ दिनुपर्ने भन्दै काठमाडौँलगायत शहरमा शहरको अनुभूति हुने गरी कार्ययोजना ल्याउनसमेत निर्देशन दिनुभएको थियो ।

बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले सरकारको बजेट कार्यान्वयनको योजना ल्याउन र त्यसलाई सफल बनाउन कर्मचारी वर्ग दत्तचित्त भएर लाग्ने अठोट व्यक्त गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।