११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

लिबाङ, रोल्पा । रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार यसरी भएका जबर्जस्ती करणी तथा करणी उद्योगका घटनामा उमेर पुगेका भन्दा उमेर नपुगेका बालबालिका बढी संख्यामा शिकार भएका देखिएको छ । नाबालिका तथा बोल्न नसक्ने महिलामाथि जबर्जस्ती करणी तथा उद्योगका घटना घट्ने मात्र थुप्रै हुने गरेको छ । यीमध्ये धेरैजसो घटना घरबाहिर रहेको बेला, जंगलमा गोठाला गएको बेला र स्याउला सोत्तर ल्याउन गएका बेला हुने गरेको उहाँको भनाइ छ । प्रविधिको दुरुपयोग गर्दै गराउँदै अश्लील भिडियो तथा अन्य सामग्री हेर्ने÷हेराउने प्रवृत्तिले पनि यौन विकृत मानसिकताको विकास हुँदै गएको पाइएको प्रनाउ फुयाँलको भनाइ छ ।

मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्र पाँच जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणी उद्योगका गरी जम्मा आठ वटा घटना दर्ता भएका छन् । यस्तै, आर्थिक वर्ष २०७३÷७४ मा आठ जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणीका गरी जम्मा ११ वटा घटना दर्ता भएका छन् । विसं २०७४ फागुन २९ गते ६ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा ११ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले नियन्त्रणमा लिएको थियो ।

सदरमुकामकै एक निजी विद्यालयमा एलकेजीमा अध्ययनरत बालिकालाई सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालकले जबर्जस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । विद्यालयबाट फर्किएर साँझको समयमा घरबाहिर खेलिरहेकी बालिकालाई अँध्यारो हुने बेला ती बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

बालिकाका अभिभावकका अनुसार असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् । पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा गजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगी अनुसन्धान शुरु गरेको थियो र त्यहीँबाट अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत रोल्पाको २०७४ साल चैत १२ गतेको आदेशअनुसार ११ वर्षीय नाबालक भएको हुँदा धरौटी राख्न लगाई बालकलाई आमाको जिम्मा लगाइएको छ ।

यस्तै, २०७४ साल साउन २६ गते राति द्विखोली गाउँपालिकामा ७६ वर्षीय वृद्धबाट ३३ वर्षीया युवती आफ्नो घरमै बलात्कारको शिकार बनेको पीडितका अभिभावकबाट प्रहरीमा उजुरी प¥यो । बोल्न नसक्ने भएका कारण उनले ती वृद्धसँग प्रतिकार गर्न नसकेको पीडितका अभिभावकले बताएका छन् । घटना घटेको भोलिपल्टै इलाका प्रहरी कार्यालय रोल्पाले पक्राउ गरी अनुसन्धानका लागि ती वृद्धलाई आफ्नो नियन्त्रणमा लियो । यसरी प्रहरी नियन्त्रणमा रहेका अभियुक्तलाई जिल्ला अदालत रोल्पाको आदेशअनुसार २०७४ साल भदौ १९ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको छ ।

यसरी अभिभावक सरहका मानिसबाट पशुवत् रुपमा जघन्य प्रकृतिका घटना हुनु दुःखद पक्ष रहेको महिला मानव अधिकारकर्मीहरुको भनाइ छ । स्थानीयवासी हुकुमा सुवेदीका अनुसार यसरी दिनदाहाडै घर, आँगन, पँधेरा, विद्यालय, बाटोघाटो जहाँसुकै छोरीचेली बलात्कारको शिकार बन्दै आएको हुँदा पनि कतिपय अभिभावकले छोरीभन्दा छोरालाई प्राथमिकतामा राखेको हुनसक्छ । सम्पूर्ण परिवारमा छोरी, चेली वा श्रीमतीलाई सम्मान गर्ने वातावरण तयार भएपछि मात्र यस किसिमका घटनामा कमी आउन सक्ने उहाँको धारणा छ ।

प्रनाउ फुयाँलका अनुसार घटनाबारेको सूचना ढिलो गरी प्राप्त हुँदा प्रमाण संकलनमा समस्या हुने, भौगोलिक विकटताको कारण घटनास्थलमा पुग्न ढिलाइ हुने मात्र हैन पुनःस्थापना केन्द्र नहुनु, मानसिक विक्षिप्तता भएका पीडितको हेरचाह र उपचारको प्रभावकारी व्यवस्था नहुनु, पीडित अदालतमा आक्रामक रुपमा प्रस्तुत हुने, कतिपय उपस्थित नै नहुने प्रवृत्ति र अभियुक्त स्वयंले सही परिचय नदिनाले पहिचान र पक्राउमा समस्या हुने गरेको छ भने कतिपय घटनामा पीडितबाट सबै विवरण खुल्न नसक्ने अवस्था पनि देखिएको छ । अभियुक्त पत्ता नलागेसम्म पीडितलाई क्षतिपूर्तिको व्यवस्था नहुँदा राज्य जिम्मेवार हुनुपर्ने र सबै पीडितले पीडक चिन्न नसक्ने, साक्षीहरु विश्वसनीय नहुने र कतिपय अदालतमा आक्रामक बन्ने जस्ता समस्याहरु देखिएको उहाँको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।