जो मनको आँखाले जगतलाई हेर्छन्…

नेपालगञ्ज । न्यून दृष्टियुक्त व्यक्तिसँग मनको चम्किलो आँखा हुन्छ, तिनले मनको चम्किलो आँखाले पनि जगत् हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन् ।

नेपालगञ्जका न्यून दृष्टियुक्त विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ । आफू न्यून दृष्टियुक्त भएकामा शुरुमा केही खिन्नता भए पनि विष्णुले पाएको अध्ययन, खेलकूद र अन्य रमाइला अवसरले उनले मनकै आँखाले जगत्लाई अहिले राम्ररी अनुभूति गरिरहनु भएको छ ।

ब्रेललिपि छामेर र सुनेर आप्mनो अध्यापनलाई अघि बढाइरहनु भएका विष्णुजस्तै ४० जनाभन्दा बढी न्यून दृष्टियुक्त बालबालिका र किशोरकिशोरी नेपालगञ्जस्थित मंगलप्रसाद माविमा अध्ययन गर्दै आइरहेका छन् ।

मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्यसभन्दा अझ धेरै मनको आँखा प्रकाशवान् हुन्छ, अनि प्रभावकारी पनि हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर दिइयो र मनग्य माया गरियो भने बाहिरी आँखाले देख्नेसरह उनीहरु पनि सबल र सक्षम हुन सक्छन् ।

यसको उदाहरण हुन् न्यून दृष्टियुक्त भोला त्रिपाठी । त्यही मंगल विद्यालयमा अध्ययन गरेर आफूजस्तै न्यून दृष्टियुक्त व्यक्तिलाई पढाउने जिम्मेवारी भोलाको काँधमा छ । उच्च तहसम्मको अध्ययन पूरा गर्नु भएका भोला मंगल माविमा शिक्षकको भूमिकामा हुनुहुन्छ । मंगल माविमा अहिले एकदेखि १० कक्षासम्म अध्ययनरत न्यून दृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले पनि लिएको छ ।

न्यून दृष्टियुक्त व्यक्तिलाई शिक्षा, सीप विकास तालीम र रोजगार दिलाउने र उनीहरुको अधिकारका लागि संघर्ष गर्दै आएको बाँके नेत्रहीन संघका अध्यक्ष कन्हैयालाल राना भन्नुहुन्छ, “संघले विभिन्न निकायसँगको सहकार्यमा न्यून दृष्टियुक्त भएका व्यक्तिको जीवनलाई सहज र सरल बनाउने सबैखाले भूमिका निर्वाह गर्दै आएको छ ।”

मंगलप्रसाद माविमा अध्ययनरत न्यून दृष्टियुक्त व्यक्तिको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाँजो संघीय शिक्षा एकाइ कार्यालय, बाँकेले मिलाएको छ । न्यून दृष्टियुक्त व्यक्तिका लागि राज्यका तर्पmबाट निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालीम, रोजगारीमा आरक्षणको व्यवस्थाले पनि बाँके जिल्लाका न्यून दृष्टियुक्त व्यक्तिलाई आप्mनो जीवन सहज ढंगबाट अगाडि बढाउन अवसर मिलेको छ ।

मंगल माविमा न्यून दृष्टियुक्त व्यक्तिका लागि अलग अध्यापन गराइँदैन, आँखा देख्नेसँग राखेर पढाउने गरिएको छ । ‘‘यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौ भन्ने भावनाको विकास गराउनु नै हो’’, शिक्षक त्रिपाठीको भनाइ छ ।

‘बाहिरी आँखाले नदेखे पनि न्यून दृष्टियुक्त व्यक्तिसँग भित्री क्षमता धेरै हुन्छ । उनीहरु अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । यहाँका न्यून दृष्टियुक्त व्यक्तिहरु शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन् । उनीहरुलाई क्षमतानुसारको रोजगारी दिनुपर्छ । ‘‘अवसर पाए न्यून दृष्टियुक्त व्यक्तिले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्’’, अर्का न्यून दृष्टियुक्त शिक्षक भावुकजंग थापाको ठम्याइ छ ।

एक अर्काको सहयात्री बन्नु, आपसी भाइचारा बलियो बनाई राख्नु, सहयोगी भावना, जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आँट र संकल्प, सिर्जनशीलता, साहित्य र विभिन्न कलामा पोख्त हुनु, कामप्रतिको एकाग्रताजस्ता कारणले पनि समाजमा न्यून दृष्टियुक्त व्यक्तिको उचाइ बढ्दै गएको शिक्षक थापा बताउनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।