असोज २ को समयसीमालाई ख्याल गरी कानून निर्माण गरिने : कानूनमन्त्री ढकाल
नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । दुवै जना नेकपाबाट प्रतिनिधिसभामा निर्वाचित(मोरङ र स्याङ्जा) हुनुहुन्छ ।
यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री (प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित)र तीन राज्यमन्त्री भएका छन् । मन्त्रिमण्डलमा नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी छन् जसमा चार जना महिला छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद्का सभामुख कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, मुख्य सचिवलगायत उच्च पदस्थ अधिकृतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठन भएको मन्त्रिपरिषद् गत वर्ष फागुन १४ र चैत २ तथा यस वर्ष जेठ १८ गते विस्तार भएको थियो । यो पाँचौँ पटकको विस्तार हो ।
असोज २ को समयसीमालाई ख्याल गरी कानून निर्माण गरिने : कानूनमन्त्री ढकाल
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कानून निर्माणले गति लिन नसक्दा संघीय संसद् ‘विजनेश’विहीन भएको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।

नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै उहाँले बोल्नेभन्दा पनि काम नै पहिलो प्राथमिकता हो भन्नुभयो ।
मन्त्री ढकाललाई स्वागत गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले कानून निर्माणका लागि मन्त्रालय अहिले दिनरात नभनी खटिरहेको बताउनुभयो ।
बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राहरुबारे विवादास्पद अभिव्यक्तिपछि तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले गत मंगलबार राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो ।
नवनियुक्त मन्त्री ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट मोरङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । नेकपा (माओवादी केन्द्र) र एमाले एकीकरणसँगै अहिले उहाँ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।


