अभिभावककै कारण बालबालिकाको भविष्य बर्बाद हुँदै

जाजरकोट । कतै बाबुको मृत्यु हुँदा आमाले दोस्रो बिहे, त कतै बाबु पत्ता नलाग्दा यहाँका एक हजार पाँच सय बालबालिका जोखिमपूर्ण जिन्दगी बिताउन बाध्य भएको पाइएको छ ।

आमा, बाबाको न्यानो माया र शिक्षा अनि संस्कार सिक्ने उमेरमा बेवारिसे बन्दै जिन्दगी नै धरापमा परिरहेको अवस्थाले गर्दा निकै समस्या परेको सरोकारवाला निकायको भनाइ छ । यति मात्र कहाँ हो र कतै आर्थिक अभावका कारण बिरामीको शरीर निको नहुँदा पलपल मृत्युसँग बाँचिरहेका बालबालिकाको सङ्ख्या पनि ठूलो रहेको छ, यहाँ ।

जोखिममा परेका ती बालबालिका पढाइको साटो गिट्टी कुट्ने, भाँडा माझ्ने, गोठालो गर्नेलगायत कार्य गरेर जीवन निर्वाह गर्न बाध्य छन्  । जाजरकोटमा एक हजार ५०० बालबालिका जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँका सातवटा स्थानीय तहबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार ठूलो सङ्ख्यामा बालबालिका जोखिममा परेको देखिएको हो । ६७४ बालक र ७०० बालिका जोखिममा छन्  ।

बारेकोट गाउँपालिकामा १६०, जुनिचाँदे गाउँपालिकामा ५५७, शिवालय गाउँपालिकामा ११८, छेडागाड नगरपालिकामा १६४, नलगाड नगरपालिकामा २३६, भेरी नगरपालिकामा २०६ र कुशे गाउँपालिकामा सय बालबालिका जोखिममा रहेको प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिनुभयो  ।

सबै स्थानीय तहका गाउँगाउँमा पुगेर तथ्याङ्क सङ्कलन गर्न नसकिएका कारण जोखिममा परेका बालबालिकाको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ । “गत आर्थिक वर्षमा जिल्लाबाट तीन दर्जन बालबालिका हराएकामा २७ जनाको उद्धार गरिएको थियो ।” गत आवमा हराएकामध्ये नौजना बालबालिका फेला नपरेको प्रजिअ बस्नेतले बताउनुभयो ।

त्यस्तै जिल्लाबाट हराएका ३३ महिला अझै फेला नपरेको उनको भनाइ छ । अशक्त र जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना तथा आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको बजेट विनियोजन नगर्दा थप समस्या भएका नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।