व्यवस्थित रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा निःशुल्क प्रदान

फिदिम, पाँचथर । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरपालिकाका नाममा रु ५० लाखभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रदान गर्नुभएको हो । प्रतिरोपनी रु एक लाखमा बिक्री भइरहेको जग्गा स्थानीयवासीले रङ्गशाला निर्माणको कार्य तत्कालै अघि बढाउन सहयोग पु¥याउने उद्देश्यले निःशुल्क प्रदान गर्नुभएको हो ।

हालसम्ममा छ जना जग्गाधनीले ३१ रोपनी जग्गा फिदिम नगरपालिकाका नाममा रजिष्टेशन पास गरिसक्नुभएको जिल्ला मालपोत कार्यालय पाँचथरका निमित्त प्रमुख बाबुराम पोखरेलले जानकारी दिनुभयो । नयाँ शहरका रुपमा विकास भइरहेको फिदिममा व्यवस्थित रङ्गशालाको आवश्यकता खड्किएको अवस्थामा स्थानीयले जग्गा प्राप्ति समिति बनाई रङ्गशाला निर्माणको आधार तयार गरिदिनुभएको हो । स्थानीय जग्गाधनीले रामचन्द्र नेपाल संयोजक, गगनलावती सहसंयोजक र रामकुमार तामाङ सचिव रहेको सात सदस्यीय जग्गा प्राप्ति समिति बनाई रङ्गशाला निर्माणका लागि जग्गा निःशुल्करुपमा सरकारी निकायलाई उपलब्ध गराउनुभएको हो ।

जग्गा प्राप्त भइसकेपछि सरकारी निकायबाट रङ्गशाला निर्माणको कार्य अघि बढ्ने स्थानीयवासीको विश्वास छ । रङ्गशाला निर्माणका लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जग्गा प्राप्ति भई सकेपछि रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताउनुभयो ।

रङ्गशाला पनि नयाँशहरका लागि आवश्यक पूर्वाधारकै रुपमा पर्ने भएकाले रङ्गशाला निर्माणको कार्य यसै वर्षबाट अघि बढ्ने प्रजापतिले जानकारी दिनुभयो ।

नगरपालिकाले पत्र पठाएपछि आयोजना कार्यालयले विस्तृत सर्वेक्षणको कार्य अघि बढाउने छ । नयाँ शहर आयोजनाको कार्यालयको चालू आवको कार्यक्रममा रङ्गशाला निर्माणका लागि विस्तृत सर्वेक्षण गर्ने तथा निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउने कार्यक्रम समावेश भएकाले ठेक्का प्रक्रिया यही आवभित्र शुरु हुने प्रजापतिले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖