हार्ने गरी उपनिर्वाचन हुँदैन : प्रचण्ड

पाँच वर्ष सरकार चल्न व्यवधान छैन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ ।

उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो । पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरुको ध्यानाकर्षण भएको स्पष्ट गर्नुभयो ।

आज बिहान मात्रै आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको जानकारी दिँदै उहाँले जनभावनानुसार कडारुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको जनाउनुभयो ।

“कामको सन्दर्भमा कहाँ के पुगेको छैन, राम्ररी समीक्षा र गृहकार्य गरेर जनताले देख्ने गरी महत्वपूर्ण लिने र पहल गर्ने विषयमा हाम्रो छलफल केन्द्रित छ”, अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा राजनीतिक नेतृत्व र दूरदृष्टिको अभावमा विकास, सुशासन र स्थिरताको अभावमा हामी पछि परेका हौँ । अहिलेको जनमत स्थिरताको पक्षमा छ । पार्टी एकताले पनि हामीलाई विकासको अभियान सञ्चालनका लागि बल दिएको छ । विकासका लागि प्रतिपक्षको पनि समान मत छ । यस अवसरलाई उपयोग गर्नुपर्छ ।”

‘हार्ने गरी उपनिर्वाचन हुँदैन’

अध्यक्ष दाहालले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौँ निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाका सम्बन्धमा हाल पार्टी कुनै निर्णय भइनसकेको उल्लेख गर्दै आफूहरु उक्त स्थान गुमाउने गरी निर्वाचनमा नजाने घोषणा गर्नुभयो ।

भट्टराईलाई मन्त्री बनाउने वचन

ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्र्वाचित एवं पार्टीका नेता योगेश भट्टराईलाई निर्वाचनमा नेतृत्वबाट गरिएको प्रतिबद्धतानुसार आफूहरुले मन्त्री बनाउन नभ्याइएको उद्घोष गर्नुभयो । निर्वाचनमा पार्टीका अध्यक्ष ओलीले सो जिल्लामा पुगी भट्टराईले जितेपछि मन्त्री बनाउने वचन दिनुभएको थियो । अध्यक्ष दाहालले भन्नुभयो, “अध्यक्ष ओलीले दिएको चुनावी भाषण मैले हेरेँ । हामीले अहिलेसम्म योगेशजीलाई मन्त्री बनाउन भ्याएका छैनौँ । एक दिन त्यो वचन पूरा हुनेछ ।”

कार्यक्रममा अध्यक्ष दाहाललाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालले पाथीभरा सद्भावना दूतको परिचयपत्र प्रदान गर्नुभयो भने अन्य नेता र विशिष्ट व्यक्तिलाई अध्यक्ष दाहाmले परिचयपत्र वितरण गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको सुकेटार विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको, आजैदेखि त्यहाँ नियमित उडान शुरु गरिएको र पाथीभरा क्षेत्र विकास समितिलाई केन्द्र सरकार मातहत राखिएको जनाउँदै पूर्वक्षेत्रको पर्यटन विकासमा सद्भावनादूत परिचयपत्र वितरणले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता भट्टराईले सरकारले चीनसँगको ओलाङचुङगोला नाका खोल्न सहमति गरेकामा धन्यवाद दिँदै पाथीभराको प्रचारका लागि २५ हजारलाई सो परिचयपत्र वितरण गरिने घोषणा गर्नुभयो । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारसँग जनताले धेरै अपेक्षा भएकाले यो असफल हुन नहुनेमा जोड दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।