राष्ट्रिय परिचयपत्र छाप्न शुरु

काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ ।

गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छाप्नुभएको हो । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ शुरुआत गरेको हो ।

सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिनुभयो ।

केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको छ । अहिले सबैको व्यक्तिगत र जैविक विवरण सङ्कलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा र पछि अन्यको छापिने उहाँले बताउनुभयो ।

सबै परिचयपत्र छापेर यही महीनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र वितरणसमेत गरिने छ । केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले यन्त्र उपलब्ध गराएपछि परिचयपत्रको छपाइ गरिएको बताउनुभयो ।

उहाँका अनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुनेछ । वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबाआमा र बाजेको नाम, जन्ममिति, धर्म, जात, पेशा र शैक्षिक योग्यता रहने छ भने जैविक विवरणमा फोटो, औँठाछाप र हस्ताक्षर हुने छ ।

केन्द्रले अमेरिकामा बनेको अत्याधुनिक यन्त्र ‘डाटा कार्ड कम्पनी’बाट प्रतिघण्टा ५०० को दरले परिचयपत्र छाप्ने इञ्जिनीयर बोहराले जानकारी दिनुभयो । उक्त यन्त्र ‘आइडिमिया आइडेण्टिटी एण्ड सेक्युरिटी’ कम्पनीले अन्तरराष्ट्रिय बोलपत्रका आधारमा ठेक्कामार्फत करीब रु चार करोडमा उपलब्ध गराएको हो ।

उहाँका अनुसार लेजर प्रविधिबाट कार्बन (पोली कार्बोनेट) लाई जलाएर परिचयपत्र छाप्ने गरिन्छ । उक्त प्रविधिलाई कसैले पनि चोर्न नसक्ने उहाँको भनाइ छ । परिचयपत्रमा एउटा कार्ड र यन्त्रले पढ्न सक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ रहेको हुन्छ ।

यन्त्रमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ । त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि यन्त्रबाट परिचयपत्र बाहिर निस्कने कम्प्युटर इञ्जिनीयर बोहराले जानकारी दिनुभयो ।

विद्युतीय चिप्सलाई सरकारको आधिकारिक निकायले मात्र पढ्न सक्नेछ । यन्त्रले छापेर आएका परिचयपत्रलाई बिग्रेको भए अलग्लै राख्ने गर्छ । परिचयपत्र छापेपछि केन्द्रले गुणस्तर परीक्षण गरेर मात्र वितरण गर्छ ।

सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचयपत्रको काम शुरु भएको हो । यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।