समानताको व्यवहार : सबै पाहुनाको गलामा सयपत्री फूलको माला !

पोखरा । कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर यहाँस्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार देखाइएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङ्तिङमा शनिबार आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा सबैलाई समानरूपमा माला लगाइएको हो ।

बाटोदेखि सभाकक्षसम्म मौलिक पोशाकमा सजिएका पङ्क्तिबद्ध स्थानीय फूल उत्पादन आमा समूहले पाहुनालाई निधारमा टीका र गलामा सयपत्री फूलको मालाले स्वागत गरेपछि कार्यक्रमस्थल फूलैफूलको पर्व तिहारमय जस्तै देखिएको थियो ।

विभिन्न तीन वटा फूल उत्पादन आमा समूहका ६१ जनाले बारीमा उत्पादन गरेको फूल टिपेर अतिथिको स्वागत र सम्मानका लागि माला तयार पारेका थिए । एउटा मालाको रू ५० का दरले खरिद गरिएको उक्त गाउँकार्यपालिका वडाध्यक्ष कल्पना गुरुङले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका ५८ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको स्वागतका लागि स्थानीय फूल उत्पादन आमा समूहमा आबद्ध ६२ जनाले सयपत्री फूलका ८५० माला तयार गरेका थिए ।

आमा समूहमध्ये क समूहले दुई सय ७०, ख समूहले दुई सय ५० र ग समूहले दुई सय थप माला सभाकक्ष सजाउनका लागि तयार गरेको र यसबाट उनीहरूले रु ५० हजार आम्दानी गरेको सदस्य गुरुङले राससलाई बताउनुभयो ।

व्यावसायिक फूलखेतीका लागि कुनै ब्याड बनाउन र महँगो बीउ किन्नु परेन । गाउँमा उमे्रको स्थानीय जातको फूलको हाँगा काटेर साउनमा बारीमा रोपिएको डाँठमा मुजुरा पलाएर यतिखेर फूल फूलेको हो ।

फूल टिपेपछि हाँगा फेरि रोप्ने गरिएको उत्पादन समूह (ग) की कुलदेवी गुरुङले जानकारी दिनुभयो । सो फूल पाँच वर्षअघि मात्र गाउँ प्रवेश गरेको हो । तीन समूहले कूल १० रोपनी जमीनमा पहिलो पटक व्यावसायिक फूलखेती शुरु गरेका थिए । एउटा माला बनाउँदा फूलका लगभग ४५ थुँगा प्रयोग गरिएको थियो ।

फूल उत्पादनको लागत न्यून रहेको र बजार पनि राम्रो भएका कारण उत्पादित फूल बिक्री हुँदैन कि भन्नुपर्दैन । अहिले गाउँपालिकाभित्रका साथै पोखराबाटसमेत मालाको माग आएको उहाँले बताउनुभयो ।

आयातित खादा र रसायनयुक्त माला गाउँमा प्रवेश निषेध गरिनाका साथै गाउँपालिकाभित्र हुने सम्पूर्ण कार्यक्रममा स्थानीय उत्पादन जैविक माला नै प्रयोग गर्ने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले बताउनुभयो ।

गाउँपालिकाले व्यावसायिक फूलखेतीका लागि पहिलो पटक रु एक लाख बजेटसमेत विनियोजन गरेर ताङ्तिङ आमा समूहलाई प्रेरित गरेको बताउँदै उहाँले आगामी दिन फूल उत्पादनलाई सबै वडामा विस्तार गर्दै जाने योजना रहेको जानकारी दिनुभयो ।

पोखरादेखि ताङ्तिङसम्म सीधै बस सञ्चालन हुने हुँदा सो क्षेत्रमा उत्पादित जैविक फूललगायत विभिन्न किसिमका तरकारी बजारसम्म पु¥याउन र स्थानीय बासिन्दालाई आवतजावतमा समेत सुविधा पुगेको छ । बजारबाट सो स्थानमा पुग्न बसमा लगभग दुई घण्टा लाग्छ ।

अधिवेशनमा सहभागी बन्न ताङ्तिङ पुग्नुभएका कास्कीकै रुपमा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थानीय आमा समूहले गरेको मेहनत र स्वागत अविस्मरणीय रहेको बताउनुभयोे ।

मञ्चमा बस्नेले खादा तथा माला लगाउने तर दर्शकदीर्घामा बस्ने टुलुटुलु हेर्ने हाम्रो पररम्परागत संस्कारविरुद्ध सभाकक्षमा उपस्थित सबैका गलामा एउटै प्रकारको फूलको मालाले स्वागत गर्न पाउँदा समानताको अनुभूति हुनाका साथै नयाँ परिस्थितिको शुरुआत भएको अन्य सहभागीले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।