डोजरले खोस्यो स्थानीयवासीको रोजगारी : काम नपाएर भौतारिँदै युवा !

जाजरकोट । बारेकोट गाउँपालिका वन्डालाका रामबहादुर कुमाई तिहार मनाएर भारत जाने तयारीमा हुनुहुन्छ । उहाँसँगै गाउँका अन्य बासिन्दा पनि बाटो खर्च र तिहार मनाउने रकमको जोहो गरेर भारत जाने तयारीमा छन् । भारत गएर कमाइ गर्नु उनीहरुको रहर नभई बाध्यता बनेको छ ।

फलामको काम गर्दै आउनुभएका सुपुखोलाका धनबहादुर कामी पनि फलामको काम सकेपछि खाली नै बस्ने गरेको बताउनुहुन्छ । काम नभएका आफ्ना छोराहरू खेलेरै दिन कटाउने गरेको उहाँको गुनासो छ । घर नजीकै सडक निर्माण भइरहेको छ तर काम नपाएर भौँतारिरहेका यहाँका युवा समय कसरी बिताउने भन्दै हिँड्ने गरेका छन् । अहिले लैखमदेखि सेपुखोलासम्म सडक निर्माणको काम भइरहे पनि यहाँका युवाले काम नपाउँदा भौतारिरहनुपरेको हो । उनीहरूले काम भएर नगरेका होइनन् काम नै गर्न नदिएपछि कसरी काम गर्नु सक्लाका कालीबहादुर नेपालीको गुनासो छ । सडकको काम डोजर र स्काभेटरले गर्छ, एउटै वडामा चारभन्दा बढी डोजर सडक निर्माणमा प्रयोग भएका छन् हामीले कसरी काम पाउनु उहाँकोे प्रश्न छ ।

जनप्रतिनिधिले आफू अनुकूलका व्यक्तिलाई सडकको ठेक्का दिँदा आफूहरूले काम नपाएको कालीबहादुरको आरोप छ । अघिल्लो वर्ष पनि काम पाइएन र यो वर्ष पनि डोजरद्वारा काम शुरु भइसक्यो हामीले कसरी काम पाउने उहाँ भन्नुहुन्छ । सडक निर्माणको काम धमाधम भइरहेको छ तर स्थानीयवासी कामको खोजीमा भारत पलायन हुँदैछन्, यो रहर नभई बाध्यता भएको लैखमका जयबहादुर खत्री बताउनुुहुन्छ । भोट माग्न आउँदा नेताहरूले रोजगारी सिर्जना गर्छौ भने तर अहिले सडकको कामसमेत गर्न दिएका छैनन् बारेकोट काउलीका प्रेमबहादुर वुढा भन्नुहुन्छ ।

त्यस्तै जिल्लाको अन्य ठाउँमा समेत डोजरकै प्रयोगले गर्दा स्थानीयवासीको रोजगारी खोसिएको पत्रकार राजेन्द्र कार्कीको भनाइ छ । सस्तो रकममा खन्ने व्यक्तिलाई काम गर्न नदिएर महँगोमा जसले खन्छ, उसैलाई ठेक्का दिने गरिएको स्थानीयवासीको आरोप छ । गाउँगाउँमा खनिएका सडक वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै खनिएका छन् । यसरी जथाभावी खनिएका सडकले जिल्लाका अधिकांश भागमा पहिरो गएर छियाछिया भएका छन् । जमीन कमजोर हुँदा बर्खायाममा जनधनको क्षति भएको अहिलेको वर्षाले देखाइसकेको नलगाड नगरपालिका–४ का हर्कबहादुर पुन बताउनुहुन्छ ।

बर्सेनि सडक खन्दै र बर्खायाममा पुर्दै गर्दा करोडौँ रकम एकै ठाउँमा खन्याउनुपर्ने बाध्यता भएकोे उहाँको भनाइ छ । एक पटक डोजरले बनाएको सडकमा बर्सेनी बजेट खर्चेर पुनः खन्दा भारी रकम खर्च भएको तर स्थानीयवासीले सहज यात्रा गर्न नपाएको पुनको गुनासो छ । स्थानीय तहले करका नाममा धेरै रकम असुल गर्छन् तर सेवा दिँदैनन् अनि हामी किन कर तिर्ने भन्दै जनता आक्रोशित हुँदै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।