१ लाख मुल्यको खुकुरी हेर्नेको भिड बाग्लुङको बडिगाड महोत्सवमा !

बागलुङ । हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ ।

स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताउनुभयो । अठतीस वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आउनुभएको हो । उहाँले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राख्नुभएको छ ।

विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आउनुभएका विकले भन्नुभयो, “मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु एउटा महोत्सवमा जाँदा करिव रू एक लाखसम्म कमाइ हुन्छ ।” छिमेकी जिल्ला गुल्मी, पाल्पा लगायत स्थानमा हुने मेला, महोत्सवमा पनि उहाँ स्टल लिनुहुन्छ ।

आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा पनि हेर्ने बढी हुन्छन् । सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन् । ‘ठूलो र महङ्गो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौं’ कालिगड विकले भन्नुभयो, “महोत्सवमा आउने दर्शकले अनौंठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् । ”

फलामलाई आरानमा गालेर र घनले पिटेर खुकुरीको रुप दिन कडा मेहनत लागेको उहाँको भनाइ थियो । विकलाई व्यवसायमा उहाँकी श्रीमती सरिताले पनि साथ दिँदै आउनुभएको छ । मेला–महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतिसँगै जान्छन् । विकको व्यवसायमा अन्य छ कालिगडले रोजगारी पाएका छन् ।

सबै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुने गरेको विक बताउनुहुन्छ । “आरन हाम्रो पुख्र्यौली पेशा हो” विकले भन्नुभयो, “अहिले आरनलाई सुधारेर व्यावसायिक बनाएको छु ।” विकका बुबा पदमबहादुर पनि अझै गाउँमा आरनकै काम गर्नुहुन्छ । उहाँहरुको पुख्र्यौली थलो ढोरपाटन नगरपालिका–६ अधिकारीचौर हो ।

‘बुबासँग काम गर्दै यो पेशा सिकँे’ विकले भन्नुभयो, “व्यावसायिक रुपमा गर्नुपर्छ भनेर म बजार झरेँ ।” आरन व्यवसायबाटै जोडेको धनले विकले ढोरपाटन नगरपालिका–२ बुर्तिवाङमा घर बनाउनुभएको छ । उहाँका दुई छोरा र दुई छोरी पढाइमा छन् । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अगालेर विक सफल हुनुभएको हो ।

बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौँदी न्वागी मेला’मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सव यही मङ्सिर ९ गतेसम्म चल्नेछ । महोत्सवमा विविध खेलकूद तथा सांस्कृतिक कार्यक्रम राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेले बताउनुभयो । उक्त महोत्सव शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।