दुर्घटनामा तीन महिलासहित २१ जनाको मृत्यु, १५ घाइते : प्रचण्डद्वारा दुःख व्यक्त
तुलसीपुर, ६ पुस । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २१ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार मृतकको शव घटनास्थलबाट ल्याउने काम भइरहेको छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए । बसमा ३४ विद्यार्थी र दुई शिक्षक सवार थिए ।

सो दुर्घटनामा परी जुम्ला तातोपानी गाउँपालिकाका १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दननाथ गाउँपालिका– ३ का १६ वर्षीय कशेन्द्र खत्री, दाङको घोराही उपमहानगरपालिका– १५ रतनपुरका १७ वर्षीया समीक्षा रोकाया, अछाम मङ्गलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी, रुकुमको त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९ स्यूजाका १७ वर्षीया मेनुका रिजाल, जुम्लाको चन्दननाथ गाउँपालिका–२ का २० वर्षीय जीवन भण्डारी, चन्दननाथ गाउँपालिका– ४ का १६ वर्षीया पर्शा रोकाया, अछामको मङ्गलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुङ्गाना, रुकुम सानोभेरी गापा– ३ का १६ वर्षीया रोजिना पुन, दाङ घोराही उपनपा– १४ का १८ वर्षीय सञ्जय खनाल, रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसैन नगरपालिका–५ का भद्र बिष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वली घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ ।
अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ दाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
आज साँझ एक वक्तव्य जारी गर्दै उहाँले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको घटनाप्रति आफू र सिङ्गो पार्टी मर्माहत भएको जनाउनुभएको छ ।
अध्यक्ष दाहालले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सवारी दुर्घटनाबाट भइरहेको जनधनका क्षति न्यूनीकरण गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।


