दाङ बस दुर्घटना : छानबिन गर्न समिति गठन, शोक प्रस्ताव पारित
लमही । दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहनुभएको छ ।
समितिले दुर्घटनाको कारण पत्ता लगाइ प्रदेश प्रहरी कार्यालयलाई सुझाव दिने छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर– ३ राम्रीमा शुक्रबार कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षक चढेको नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नं को बस दुर्घटना हुँदा २३ जनाको मृत्यु र १४ जना घाइते भएका थिए ।
प्रदेश नं ५ : दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित

प्रदेश ५ प्रदेशसभाले शुक्रबार दाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ ।
प्रदेशसभाको आज बसेको बैठकको प्रारम्भमा सभामुख पूर्णबहादुर घर्तीले दाङको तुलसीपुर नगरपालिका वडा नं ३ राम्रीमा शुक्रबार कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षक चढेको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति शोक प्रस्ताव पारित गरेको हो ।
साथै दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरिएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष समय दिएर बोल्ने प्रदेशसभा सदस्यले सडक दुर्घटनामा परेकाको उद्धारका लागि आधुनिक प्रविधिका उपकरणको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको आजको बैठकमा सार्वजनिक सरोकारका विषयमा धारणा राख्दै दाङका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीले २३ जनाको ज्यान जाने गरी दाङमा भएको बस दुर्घटनाका घाइतेलाई उद्धार उपकरणको अभावका कारण समयमै उद्धार हुन नसकेको भन्दै यस खालका दुर्घटनामा समयमै उद्धार गर्न आवश्यक उपकरणको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
दुर्घटनास्थल अप्ठ्यारो ठाउँमा भएको र आवश्यक उपकरणको अभावका कारण समयमै उद्धार कार्य हुन नसक्दा ठूलो जनधनको क्षति हुन पुगेको भन्दै प्रदेशसभा सदस्य ओलीले उपकरणको अभावमा समयमै उद्धार हुन नसक्ने परिस्थितको अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाँले दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा समेत आवश्यक उपकरण नहुँदा घाइतेले उपचार समयमा पाउन भन्दै उक्त अस्पताललाई पनि बढाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा समसामयिक विषयमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले आर्थिक समृद्धिका लागि सरकारको काममा अझै गति बढाउनुपर्ने बताउनुभयो । उहाँले वैज्ञानिक भू–उपयोग नीति निर्माणका लागि तत्काल भूमि व्यवस्था आयोग गठन गर्नसमेत माग गर्नुभयो ।
त्यसैगरी आजको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले प्रदेश जाँचबुझ आयोग गठन, काम कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सङ्घ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तर प्रदेश बासिन्दा समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रशासकीय कार्यबिधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभयो ।
प्रदेशसभामा पेश भएका पाँच विधेयकमध्ये प्रदेश जाँचबुझ आयोग गठन, काम कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सङ्घ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलसमेत आज नै सकिएको छ । विधेयकमाथि प्रदेशसभा सदस्यले उठाएका प्रश्नका बारेमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले जवाफ दिनुभएको थियो ।
विधेयकउपर सांसद तीलक शर्मा, फकरुद्दिन खाँ, दीपा विक, बाबुराम गौतम, चेतनारायण आचार्य, युवराज खनाल, कमला विकले छलफलमा भाग लिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगन भएको छ ।


