दाङ बस दुर्घटना : कक्षा सञ्चालन भएको एक महीना नबित्दै भर्ना भएका आधा विद्यार्थीले ज्यान गुमाए

नवीन नेपाली, नारायणपुर । बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना हुँदा भर्ना भएका आधिभन्दा बढी विद्यार्थीले ज्यान गुमाएका थिए । विद्यार्थीको निधनपछि सो शिक्षालयको पठनपाठन प्रभावित बनेको छ ।

“यसै वर्षदेखि शिक्षालय सञ्चालनमा आएको हो,” शिक्षालयका संयोजक केशरमान विसीले भन्नुभयो, “शिक्षालयको उद्घाटनसमेत गरिएको थिएन ।” कक्षा सञ्चालन भएको एक महीना नबित्दै शिक्षालयमा भर्ना भएकामध्ये करीब आधाभन्दा बढी विद्यार्थीले ज्यान गुमाएको विसीले बताउनुभयो । वनभोजका लागि विद्यार्थीलाई सल्यान नलगिएको उहाँको भनाइ छ । “पाठ्यक्रमअन्तर्गत अभ्यासका लागि विद्यार्थीलाई नजिकको वनस्पति उद्यान लगिएको हो,” उहाँले भन्नुभयो ।

विज्ञान विषय अध्ययन गर्नका लागि शिक्षालयमा ३७ विद्यार्थी भर्ना भएका थिए । छात्रवृत्तिबाट थप तीनजना भर्ना गर्नुपर्ने थियो । शिक्षालय प्रमुख यादव सुवेदीका अनुसार ३४ विद्यार्थी भ्रमणमा गएका थिए । “दुई विद्यार्थी कपुरकोटमै झरेका कारण दुर्घटनामा ३२ विद्यार्थी परे,” उहाँले भन्नुभयो । उन्नाइस विद्यार्थीको दुर्घटनामा मृत्यु भएको छ । “घाइतेसहित अब १८ विद्यार्थी शिक्षालयसँग छन्” सुवेदीले भन्नुभयो, “घाइते तेह्र विद्यार्थीमध्ये १२ को काठमाण्डौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।”

अहिले पाँच विद्यार्थी मात्रै सशुकल अवस्थामा छन् । “तत्काल शिक्षालयले कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन,” सुवेदीले भन्नुभयो । घाइते अधिकांशको यस वर्ष अध्ययन गर्न सक्ने अवस्था छैन । शिक्षालयको पहिलो वर्षको शैक्षिकसत्र प्रभावित बनेको छ । शिक्षालयका संयोजक विसी बाँचेका विद्यार्थीबाट नै पठनपाठन पुनः थालिने बताउनुहुन्छ । “यस वर्ष पुनः विद्यार्थी भर्ना गर्न सक्ने अवस्था छैन, विद्यार्थी अन्यत्रै भर्ना भइसकेका छन्,” विसीले भन्नुभयो । नमस्ते राप्ती यातायात प्रालिले घाइतेको सम्पूर्ण उपचार समितिले बेहोर्ने जनाएको छ । शनिबार प्रालिको बा४ख ९७६६ नं को बस दुर्घटना हुँदा २३ जनाको मृत्यु तथा १४ जना घाइते भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।