विपद् व्यवस्थापनमा प्रभावकारी काम हुनेछ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन गर्ने बताउनु भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा उहाँले विपद् व्यवस्थापनमा विगतका सरकारले ठोस ढङ्गले पूर्वतयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको चर्चा गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणको काम जेनतेन ढङ्गले नभई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नीति, संरचना र योजना विपद् जोखिम न्यूनीकरणमैत्री छ भन्दै विकास र समृद्धिको कुरा गर्दा विपद् जोखिमलाई पनि न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।

उहाँले प्रदेश नं १ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनिसकेको छ र अब नियमावली एवं निर्देशिका बन्ने तयारीमा छौँ भन्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यस प्रदेशमा मानवीय तथा भौतिक क्षति हुन नदिन सरकार सचेत छ भन्दै विपद्लाई राहतमा नबुझ्न आग्रह गर्नुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अभियानमा सक्रिय डा गङ्गाधर तुलाधरले वैशाख १२ को भूकम्पले राज्यको रु आठ अर्बभन्दा बढी खर्च भएकाले विपद् आउनुुपूर्व गर्ने तयारी भएमा खर्च घटाउन सकिनेछ भन्नुभयो ।

उहाँले नेपालमा सरदर सडक दुर्घटनामा दैनिक पाँच जनाको मृत्यु हुने जानकारी दिँदै गएको वर्षमा चट्याङबाट ६६१ जनाले ज्यान गुमाएको बताउनुभयो । जलवायु परिवर्तन, अप्रत्याशित घटना, जनसङ्ख्या वृद्धि, शहरीकरण र खराब योजनाको कारण विपद् आउने गरेकाले यसबाट बच्न व्यापक जनचेतना फैलाउनुपर्ने डा. तुलाधरले जोड दिनुभयो ।

प्रदेश नं १ का मुख्यसचिव केदार न्यौपानेले सडक दुर्घटनाबाट हरेक वर्ष करीब एक हजार मानिसको ज्यान जाने गरेकाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनबाट मर्नेको सङ्ख्या आधाभन्दा कममा झार्नुपर्ने बोल्नुभयो ।

उद्योग, वन तथा पर्यटन सचिव बद्रीराज ढुङ्गानाले जङ्गली जनावर र सडक दुर्घटना तथा अन्य विपद्बाट बचाउन अभियानले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं १ प्रहरी प्रमुख केदार रिजाल र सशस्त्र प्रहरी प्रमुख मन्दीप श्रेष्ठले विपद्को समयमा तत्काल काम गर्नुुपर्ने आआफनो सङ्गठनभित्र साधन र स्रोतको निकै अभाव रहेको चर्चा गर्नुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले भू–उपयोग नीति भएमा विपद्का धेरै समस्या आफैँ समाधान हुनेछ भन्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले विपद् व्यवस्थापन र न्यूनीकरणमा सरकारले साधन र स्रोतलाई उच्च प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।