भारतीय अवरोध र दबाबका कारण एक वर्षदेखि ठुटेखोला पुल प्रयोगविहीन !

रत्ननगर, १४ पुस । भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल प्रयोगमा आउन सकेको छैन । पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो जोडिन नपाउँदा प्रयोगविहीन बनेको हो ।

ठोरी गाउँपालिका–२ र ३ वडा जोड्ने १०२ मिटर लामो ठुटेखोलामा पुल बनेको एक वर्ष भइसक्दा पनि स्थानीयवासी खोलाकै बाटो प्रयोग गर्न बाध्य छन् ।

नहरको पानीको विषयमा पटक–पटक भारतीय र नेपालीबीच झडप हुने गरेको स्थानीयवासी रबीन तिमल्सिनाले बताउनुभयो । नेपाली भूमि भएर बगेको खोलामा नेपालीले बाँध बाँधेर कुलोमा पानी लैजाँदा भारतीय बाँध भत्काउन आउने गरेको तिमल्सिनाको भनाइ छ । नेपालले माथिल्लो एउटा बाँधबाट र भारतले तल्लो दुई बाँध बनाएर पानी लगेको छ ।

ठोरी–केरुङ हुलाकी मार्गअन्तर्गतको ठुटेखोला पुल भएर ठोरी गाउँपालिका वडा नंं ३ सुवर्णपुर हुँदै वीरगञ्जसम्म जान सकिन्छ । ठोरी भन्सारबाट सानाठूला गरी दैनिक करीब १०० गाडी आवतजावत गर्ने गरेको ठोरी निर्मलबस्ती सामुदायिक वन उपभोक्ता समितिअन्तर्गतको चोरी सिकारी नियन्त्रण समितिका संयोजक पिताम्वर सिलवालले बताउनुभयो ।

ठुटेखोला पुलबाट भारततर्फको करीब ३० मिटरमा नेपाल–भारत सीमा पिल्लर रहेको छ । तर, भारतले भने पुलभन्दा भित्र आएर बाँध बनाई वर्षाैदेखि पानीको प्रयोग गर्दै आएको छ । यहाँको पानीले भारतको भिखनाठोरी, डुम्मरवाना, जमुनिया, भवानीपुरसम्मको क्षेत्रमा सिँचाइ पुगेको छ । ठुटेखोला पुल हुलाकी मार्गअन्तर्गत पर्ने भएकाले पानीको कुलोमा ह्युमपाइप राख्न नमिल्ने भएकाले पुल सञ्चालनमा समस्या आएको सिलवाल बताउनुहुन्छ ।

दुवै देशलाई समस्या पर्ने भएकाले समाधानको मध्यमार्गी बाटो खोजी भइरहेको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो । “पुल चलाउनका लागि नहर पुर्नुपर्ने भए पनि पुर्न सहज नभएकाले बाटो रोकिएको हो”, उहाँले भन्नुभयो, “नहर पुर्दा भारतलाई समस्या पर्छ, नपुर्दा पुल सञ्चालनमा समस्या आएको छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।