राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।

राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो ।

पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उहाँको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गर्नुभएका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गर्नुभयो ।

न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गर्नुभएका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गर्नुभयो । त्यसक्रममा पुनरावेदन अदालत दीपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाउनुभएको थियो ।

विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त हुनुभएको थियो । उहाँले आजै सर्वोच्च अदालतमा पुगी पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । उहाँको चार वर्षको कार्यकाल रहनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।