विद्युतमा आत्मनिर्भर बन्दै सङ्खुवासभा, स्थानीय खोलानालाबाटै उत्पादन भएको विद्युतले जिल्लामै लोडसेडिङको अन्त्य

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर सञ्चालनले जिल्लामा लोडसेडिङ अन्त्य भएको छ । बर्खायामको समय आफ्नै जिल्लामा उत्पादन भएको विद्युत् बढी हुने नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय खाँदबारीका प्रमुख ध्रुव अधिकारीले जानकारी दिनुभयो ।

सङ्खुवासभामा हाल ११.८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ । जिल्लामा सभाखोलाबाट ४.४ मेगावाट, हेवाखोलाबाट ३.२ मेगावाट, पिलुवा–१ बाट तीन मेगावाट र लोवर पिलुवाबाट एक मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । जिल्लामा हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत् प्राधिकरण सङ्खुवासभा वितरण केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

जिल्लामा १० भन्दा बढी साना खोलाबाट ‘माइक्रोहाइड्रो’ सञ्चालन गरी स्थानीयवासीले विद्युत् सेवा लिइरहेका छन् । जिल्लामा उत्पादित विद्युत् छिमेकी जिल्लामा समेत दिइने गरिएको छ । जिल्लाको अरुण नदीमा ठूला प्रोजेक्टका रूपमा बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो, माथिल्लो अरुण, अपर अरुण, अरुण चौँथो र अरुण दोस्रोसमेतको सर्भे भइसकेको छ भने सबैभन्दा महत्वपूर्ण र ठूलो उत्पादन हुने अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ ।

त्यसैगरी सभाखोलाबाट दिव्यश्वरी हाइड्रोपावरले चार मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । यी दुई आयोजनाले चार किलोवाट उत्पादन गरेर केन्द्रीय प्रसारण लाइनमा आबद्ध भइसकेका छन् । निगुरे जलविद्युत् आयोजना लामो समयदेखि बिग्रिएर बन्द रहेको छ । यो आयोजना जिल्लाका तीन क्याम्पस वरुण बहुमुखी, सङ्खुवासभा बहुमुखी र मादी बहुमुखी क्याम्पसले २५ वर्षका लागि लिजमा लिएर संयुक्त रूपमा सञ्चालन गरेका हुन् । त्यसका साथै जिल्लाका अन्य विभिन्न स्थानीय खोलानालाबाट स्थानीय रूपमा ऊर्जा शक्ति हाइड्रोपावर सञ्चालनमा रहेका छन् ।

सङ्खुवासभाका सात स्थानीय तहबाहेक अन्य स्थानीय तहका गाउँमा केन्द्रीय प्रसारण पुगेको छैन । केन्द्रीय प्रसारण लाइन नपुगेका ठाउँमा हाइड्रोपावरबाटै उज्यालो छाएको छ । केन्द्रीय प्रसारण लाइनले नछोएको सङ्खुवासभाका धेरै स्थानीय तहका गाउँबस्तीका पेल्ट्रीकसेट, माइक्रोहाइड्रो र हाइड्रोपावरकै भरमा छन् । सङ्खुवासभाका सिलिचोङ, चिचिला, मकालु, भोटखोला, चैनपुर नगरपालिकाभित्रका गाउँबस्ती जहाँसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन, त्यहाँ स्थानीय हाइड्रोपावरको माध्यमबाट बिजुली बलिरहेका छन् ।

सङ्खुवासभामा विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका अनुसार हाल साँझको समयमा चार मेगावाट खपत भइरहेको छ भने दिउँसो दुई मेगावाट मात्र खपत भइरहेको छ । जिल्लामा उद्योग कलकारखना नभएकाले दिउँसो विद्युत्को प्रयोग कम भएको प्रमुख अधिकारीले बताउनुभयो । जिल्लामा उत्पादित विद्युत् पिलुवा सवस्टेशनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ । जिल्लामा चार हाइड्रोपावरका कारणले आत्मनिर्भर भए पनि १० वटै स्थानीय तहमा भने विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छैन । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।