यात्रुका लागि चालक नै भगवान् !
सुर्खेत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको र मुलुकको यातायात क्षेत्रको सुधारमा सबैको समान दायित्व र जिम्मेवारी रहनुपर्ने बताउनु भएको छ ।
‘वर्तमान सरकार ट्राफिक सुधारका लागि सचेत छ तर नेपाल प्रहरी एक्लैले सुधार गर्न सक्दैन, यसमा सबैको साथ र सहयोग आवश्यक छ,’ । उहाँले बताउनु भयो । बिरामीका लागि चिकित्सक भगवान् भएजस्तै यात्रुका लागि चालक पनि भगवान् नै भएकाले चाडपर्वका समयमा सबैलाई सुरक्षित स्थानसम्म पुर्याउन सम्पूर्ण चालकलाई आग्रहसमेत गर्नुभयो ।

‘बसपार्कभित्रको ९० प्रतिशत बेथिति हटिसकेको छ, बाँकी बेथिति हटाउन सबैको सहकार्य आवश्यक छ,’, ‘आगामी दिनमा अनलाइन टिकटबाट यात्रा गर्न मिल्ने प्रक्रियाको थालनी गरिने छ ।’ उहाले भन्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राईले ट्राफिक व्यवस्थापनमा ट्राफिकले मात्र केही गर्न नसक्ने भन्दै सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । यसैबीच महाशाखाले विगत दुई दशकदेखि देशका विभिन्न भागमा सुरक्षित यात्रा गराउने सात प्रदेशका सात चालकलाई नगदसहित सम्मान गरेको थियो ।


