यस्तो छ टेलिकमको दशैं अफर
काठमाडौं। नेपाल टेलिकम (एनटीसी) ले दशैं, तिहार र छठ पर्वसम्मका लागि छूट र बोनससहितका विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । एनटीसीले फोरजी÷एलटीई र अन्य सेवाहरूमा विशेष छूटसहित अफर सार्वजनिक गरेको हो ।
अफरअन्तर्गत एनटीसीले फोरजी/एलटीई सिम परिवर्तन निःशुल्क गरेको छ । त्यस्तै, फोरजी÷एलटीई नेटवर्कमा रजिस्टर हुने ग्राहकलाई दुईदिने अवधिको २०० एमबी डाटा बोनस र पोस्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट सेवा निःशुल्क गरिएको छ । कम्पनीले अर्को सूचना नदिएसम्म अफर जारी रहने बताएको छ ।
त्यस्तै प्रिपेडका ग्राहकले कात्तिक १६ गतेसम्म मिस्ड कल अलर्ट सेवा निःशुल्क खरीद गर्न सक्नेछन् । मिस्ड कल अलर्टले नेटवर्क नभएको, मोबाइल व्यस्त वा अफ भएको समयमा छुटेका कलको जानकारी दिन्छ । त्यसैगरी जीएसएम÷सीडीएमए ग्राहकका प्रिपेड÷पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध छ ।
टेलिकमले असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गर्ने भएको हो । योजनाअनुसार ५०, १००, २०० रुपैयाँको रिचार्जमा १० प्रतिशत र ५०० र १ हजार रुपैयाँको रिचार्जमा २० प्रतिशत बोनस प्राप्त दिनेछ । प्राप्त बोनस क्रमशः ३ र ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । रिचार्जमा बोनसबाहेकका अफर आइतबारबाटै लागू भएको टेलिकमले उल्लेख गरेको छ ।-आर्थिक अभियान


