एकल पुरुषलाई पनि अब सामाजिक सुरक्षा भत्ता
मेलम्ची । एकल महिलाले झैँ एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउँने भएका छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउँने भएको हो ।
श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हेलम्बु गाउँपालिकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दीनुभयो। एकल पुरुषले अब मासिक ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको र पुरुष भत्ताका लागि चालु आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेकोपनि जनाएको छ ।
अध्यक्ष शेर्पाले भन्नुभयो, राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिक रूपमा नै पनि कार्यान्वयनमा ल्याउनका लागि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हौँ’। सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये हेलम्बु कम आन्तरिक आय भएको गाउँपालिकामा भएको समेत उहाँको भनाइ छ । गत आर्थिक वर्षमा ४० लाख आन्तरिक आम्दानी गरेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिनुभयो ।
हेलम्बुले यस आर्थिक वर्षमा ६१ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको समेत बताए । सरकारी तर्फबाट दोहोरो सुविधा नपाउने भएकाले वृद्धभत्ता लिइरहेका एकल पुरुषको हकमा भने एकल भत्ता लिन नपाउँने व्यवस्था गरेको छ । हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको र करिब ३ सय ५० एकल पुरुष रहेको अनुमान गरिएको पालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो।


