आगामी माघसम्म देशैभरि ‘फोर जी’ सेवा पुराईसक्ने नेपाल टेलिकमको दाबी
काठमाण्डौ । नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोर जी’ विस्तारको कामलाई तीव्रता दिएको छ । कात्तिक ३ गते आइतबारसम्म यो सेवा झण्डै ८० ठाउँमा सुरु भैसकेको नेपाल टेलिकमले जनाएको छ ।
गएको असोज १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कल गरेर विस्तारित फोर जी एलटिई सेवाको उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्रीले सुरु गर्दाको दिन फोर जी सेवा ५० शहरमा सुरु भएको थियो ।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यको अनुसार ‘औपचारिक रुपमा ३९ जिल्लाका ७० ओटा नगरपालिका र चार ओटा गाउँपालिकामा यो सेवा सुरु भएको छ, केही ठाउँमा अनौपचारिक रुपमा परीक्षणको काम भैरहेको छ’। उहाँले चिनियाँ कम्पनीसँगको सम्झौता अनुसार नै आउँदो माघसम्म देशैभरि फोर जी सेवा पुगिसक्ने पनि दाबी गर्नुभयो ।

अहिलेको कामको गति हेर्दा माघसम्म काम सकिने सम्झौ अनुसारनै काम हुने उहाँको भनाइ छ । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाण्डौ र पोखरामा फोर जी सेवा सुरु गरेको थियो । त्यसपछि निजी क्षेत्रका अरु दूरसञ्चार प्रदायकले फोर जी सेवा सुरु गरे पनि टेलिकम भने पछि परेको थियो । यो सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।
सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गएको माघमा फोर जी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेशन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता भएको थियो । टेलिकमले अहिले भैरहेका टु जी र थ्री जी प्रविधिका टावरसँगै फोर जीकै लागि भनेर थप साढे ६ सय नयाँ टावर थप्दैछ । त्यसपछि टेलिकमसँग चार हजार दुई सय ओटा ग्राउण्ड बेस भएका टावर हुनेछन् । सबै गरेर ६ हजार सात सय ओटा टावरमार्फत फोर जी सेवा दिने टेलिकमले जनाएको छ ।


