गै’रकानूनीरुपमा नेपालमा यात्रु बोक्ने र रिजर्भमा हिड्दै भारतीय गाडी

लुम्बिनी । वर्षभरिमा जम्मा २९ दिन नेपाल बस्न पाउने कानूनविपरीत भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे साना सवारी वर्षभरि नेपालमा राखेर यात्रु ओसारपसार कार्य गर्दा नेपाली गाडी सञ्चालक मारमा परेका छन् ।

भारतीय नम्बर प्लेटका गाडीले गैरकानूनीरुपमा नेपालमा यात्रु बोक्ने र रिजर्भमा हिँड्ने गरेको पाइएको छ । नेपाली रातो नम्बर प्लेटका गाडीलेसमेत निजी यात्रु ओसारपसार गर्न नपाउने कानूनी प्रावधान छ । भारतीय निजी गाडी भने नेपाली भूमिमा निर्वाधरुपमा यात्रु रिजर्भ गरेर हिँडिरहेका छन् ।

भारतीय नम्बर प्लेटका गाडी भन्सार सहुलियतको दुरुपयोग गरी अवैधरुपमा नेपालमा राखिने र नेपालमा रिजर्भमा यात्रु ओसारपसार गर्ने गरेका नेपाली ट्याक्सी चालक सोमबहादुर परियारले बताए । उनले भने , “नेपाली नम्बर प्लेटेका गाडीमा यात्रु लिएर हिँड्दा भन्सार कर्मचारी, प्रहरीले धेरै दुःख दिन्छन्, तर भारतीय नम्बर प्लेटका गाडी हेर्दै हेर्दैनन् ।”

परियारले झै अर्का नेपाली नम्बर प्लेटका गाडी चालक नन्दु मुक्तानलाई पनि प्रशासनले समयमै ध्यान नदिए पेशा नै परिवर्तन गर्नुपर्ने बाध्यता आउने बताए । परियारले गोरखपुर चल्ने गाडीलाई नेपालमा आएर यात्रु ओसार गर्न दिन नहुने बताए । उनले भने , “गोरखपुरबाट सुनौली भनेर ल्याउने अनि भन्सार सुविधाको दुरुपयोग गर्दै सिधै बुटवल, तानसेन, पोखरा, मुक्तिनाथ, काठमाडौँसम्म अनाधिकृतरुपमा जाने गरेका छन्, तिनलाई तत्काल कारवाही गर्नुपर्दछ ।”

वर्षमा २९ दिन नेपाल बस्न पाउने कानूनी सुविधाको दुरुपयोग गर्दै भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे गाडी यसरी नेपालमा बसेका हुन् । भारतीय नम्बर प्लेटका गाडी कति भन्सार गरेर त कति सुविधा लिएर बस्ने गर्दछन् । निःशुल्क सुविधाको प्रयोग गर्दै बिहान आएर साँझ फर्किनुपर्ने गाडी हप्तौँसम्म नेपालमै बस्ने गरेका छन् ।

भारतबाट नेपाल आउन चाहने गाडी धनीले अस्थायी भन्सार सुविधा प्रतिदिनको रु ५०० तिरेर भन्सारबाट लिन पाउने प्रावधान छ । भन्सारले कार, जीप, भ्यान, बस, मिनिबस, एम्बुलेन्सको रु ५०० लिने गरेको छ । यसैगरी ट्रक, पिकअप, मिनिट्रकको रु एक हजार ७०० र ट्र्याक्टरको रु ४०० भन्सार लाग्ने गर्दछ । यसरी दैनिक ६००-७०० गाडी नेपाल भित्रिने गरेका छन् । भारतीय नम्बर प्लेटका गाडी सीमावर्ती क्षेत्रमा सञ्चालित क्यासिनो, मेडिकल कलेजमा पनि अवैधरुपमा सञ्चलन भइरहेका छन् ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले भने , “सिस्टमले ट्रयाक र क्यास गर्न नसक्दा कुन गाडी कति दिन बस्यो भनेर पुष्टि गर्न मुश्किल भएको छ, नेपाल बस्नेगाडीले भन्सारमा भएको सिस्टम असुविधाको फाइदा उठाएको देखिएको छ ।” ट्राफिक प्रहरीले जरिवाना मात्रै उठाउने गरेका कारण कारवाहीका लागि पठाउने भने गर्ने नगरेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले कानूनविपरीत भारतीय गाडी नेपाल आई सञ्चालनमा आएको भए कारवाही गरिने बताए । भैरहवा भन्सारले आसीकुडा सफ्टवेयर प्रयोग गर्दै आएको छ । नेपालको कानूनले निजी नम्बर (रातो प्लेट) का गाडीलाई यात्रु ओसारपसारमा रोक लगाएको छ । सोका कारण यात्रु बोक्ने साधनका रुपमा भाडाका गाडी (कालो प्लेट) तथा पर्यटक गाडी (हरियो प्लेट) का गाडी प्रयोग हुने गर्दछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।