प्रधानमन्त्रीलाई प्र श्न– टे प सुनिसकेपछि गोकुल बाँस्कोटाको अझ प्र शंसा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका मन्त्री गोकुल प्रसाद बाँस्कोटा (राजीनामा दिएका) को कमिशनको अडियो प्रकरण आएपछि यो सरकारको चरित्र के हो ? भन्ने कुरा प्रष्ट भएको टिप्पणी गरे । उनले भने, “त्यत्रो समर्थन पाएका सञ्चारमन्त्रीबाट जुन किसिमबाट नेपाली जनताको स्रोत र साधनमाथिको खुलेआम लुट गर्ने प्रयास भयो, त्यो बाहिर आयो, त्यसले गर्दाखेरि बास्तवमा यो सरकारको चरित्र के हो ? यस्तो सरकारबाट के आशा गर्न सकिन्छ ? भन्ने प्रश्न नेपाली जनतामाझ चड्कारो रुपमा आएको छ ।”

उनले कमिशनको यो अडियो प्रकरणभन्दा अघि पनि यति कान्ड, सुन कान्ड, एनसेल कान्ड, न्यारोबडी कान्ड, वाइडबडी कान्ड भए, ती सबै कान्ड नेपालको प्रेस जगत (मिडिया) ले बाहिर निकालेको छ, तर, त्यसलाई एउटा लजिकल कन्क्लुजनमा लैजाने कुरामा यो सरकार तयार देखिएन ।

उनले बाँस्कोटाको ७० करोड कमिशनको टेप प्रकरण सुन्दा अझै एक अर्ब बढाइदेउन भनेर सुनिएको पनि बताए । उनले भने, “एक अर्ब भनेको त केही पनि होइन, नेपालीहरुको आर्थिक अवस्था कस्तो छ ? त्यसको कुनै मतलब छैन् । एक अर्ब बढाईदेउ अथवा अहिले हेर्दाखेरि त ३७, २८ अर्बको पनि कुरा आयो ।”

लोहनीले हिजो सामन्ती व्यवस्थामा जसरी शोषण गरिएको थियो अहिले प्रजातन्त्रको वैधानिकता लिएर शोषण गरिएको टिप्पणी गरे । उनले थपे,‘अहिले त नेपालमा नवसामन्तवादको नयाँ अध्याय नै सुरु भएको छ । यसमा प्रश्न के छ भने बाँस्कोटामात्रै हो कि या त्योभन्दा माथि पनि अरु कोही थिए ? किनभने एउटा खबर के आएको छ भने जसले यो कुरा पर्दाफास गरे, मिश्र भन्ने व्यक्तिले उनले यो टेप लगेर प्रधानमन्त्रीज्यूलाई नै दिएका थिए, त्यो पनि दुई महिना आगडि, त्यो टेप सुनिसकेपछि त्यही व्यक्तिलाई नेपालको सबभन्दा शसक्त राजनीतिज्ञ भनेर प्रशंसा गर्नु र अहिले यो भ्रष्टाचारको कुरा बाहिर आउनुबाट प्रधानमन्त्रीलाई यसमा कति थाहा थियो या थिएन ? भन्ने कुरा अब ठूलो प्रश्नको रुपमा आएको छ ।’

उनले यो प्रकरणमा अब हुने छानबिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोल्नुपर्ने माग गरे । उनले भने,‘उहाँले कति थाहा पाउनुभएको थियो ? रोक्नको लागि के गर्नुभयो ? के गर्नुभएन ? यो कुरा नेपाली जनताले थाहा पाउनुपर्छ । किनभने आफ्नो प्रधानमन्त्रीको नैतिकता र चरित्रको बारेमा जनता आश्वासन हुन चाहन्छन् । प्रधानमन्त्री भनेको त संस्था हो, त्यो संस्थामापनि तपाईले आस्था गर्न सक्नुभएन भने त्यो बेलामा देशमा अशान्ति र अराजकता बढेर जान्छ ।’

अध्यक्ष लोहनीले यो प्रकरणको निश्पक्ष छानबिन हुनुपर्ने बताउँदै संसदीय समितिबाट छानबिन हुनुपर्ने आफूहरुको सुझाव रहेको सुनाए । उनले भने,‘यस्ता छानबिन पहिले भएका पनि छन् । पहिले २०४९–५० सालमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा हवाईजहाजसम्बन्धी धमिजा काण्ड आएको थियो, त्यसमा कानूनविपरित एक जना मान्छेलाई एजेन्सी दिईयो भनेर संसदले छानबिन गरेको थियो, म त्यसको अध्यक्ष थिएँ । उहाँ समितिमा आउनुभयो । हामीले पनि उहाँलाई यसमा तपाईको संलग्नता छ कि छैन् ? भनेर सोध्यौं । तपाईको संलग्नता छैन भन्ने कुरामा कसरी आश्वस्त हुने ? भनेर सोधेका थियौं । उहाँले आफ्नो कुरा राख्नुभएको थियो । हामीले सर्वसम्मती रुपमा यो केशमा भ्रष्टाचार नभएको भनेर भन्न मिल्दैन भनेर लेखेर पठायौं । जुन दिन संसदमा त्यो प्रतिवेदन पेश हुँदै थियो, त्यही दिन गिरिजाबाबुले राजीनामा दिनुभएको थियो ।’

यो प्रकरणमा संसदीय समितिले गठन गरेको छानबिनमा गएर आफ्नो कुरा राख्नुपर्ने उनको तर्क छ । उनले भने,‘उहाँले संसदीय समितिमा गएर यो प्रकरणमा कति थाहा थियो ? कति थिएन ? के थियो ? सबै कुरा भन्नुपर्छ । उहाँले यो प्रकरणमामात्रै होईन, यति प्रकरण, सुन काण्डदेखि लिएर अरु काण्डको बारेमा पनि उहाँले जवाफ दिनुपर्छ । सांसदहरुले प्रश्न गर्नुपर्छ । त्यो कुरा नेपाली जनताले थाहा पाउनुपर्छ ।’-बाह्रखरी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।