यसरी आधुनिक दा स का रुपमा फ स्दै खाडीमा नेपाली महिला

एजेन्सी । पाँच महिनासम्म उत्पीडनमा परेकी अमीताले भाग्न जानेकी थिइनन् । यसरी कुवेतको एक सहरी क्षेत्रमा घरेलु कामदारका रुपमा काम गरिरहेकी ४५ अमीता (नाम परिवर्तन) लाई भोको राखेर दिनको २० घण्टासम्म जबरजस्ती काम गर्न लगाइन्थ्यो ।

उनी त्यस घरका सबै सुतेको मौका छोपेर शौचालयको झ्यालबाट बाहिर निस्केर भागेकी हुन् । त्यसपछि उनले कुवेतस्थित नेपाली दूतावास पनि फेला पारिन् । तर त्यहाँका कर्मचारीहरुले आफूलाई सुरक्षित रुपमा घर काठमाडौँ पुर्याइदिने उनको आशा भने बेकार बन्न पुग्यो ।उनीहरुले मद्दतका लागि अस्वीकार गरेको अमीता बताउँछिन् ।

उनी भन्छिन्, “उहाँहरुले मलाई म जसरी नै रोजगारदाताको घरबाट भागेका धेरै महिलाहरु रहेको बताउनुभयो र विमानको टिकट शुल्क तिरिदिन नसक्ने भनेर पठाउनुभयो ।”

तर पनि दूतावासका कर्मचारीहरुले अमीतालाई रोजगार सम्झौता उल्लंघन गरेको भन्दै पुलिससमक्ष आत्मसमर्पण गर्न सुझाव दिएका थिए ।

त्यसरी ११ दिन जेलमा बिताइसकेपछि मात्र उनलाई कुवेत सरकारको खर्चमा नेपाल पठाइयो ।

यसरी सबै खाडी मुलुकले विदेशी घरेलु कामदारहरुलाई ‘कफाला प्रणाली’ अन्तर्गत रोजगार प्रदान गर्ने गरेको छ ।

यसमा कामदारहरुको बाहिरी आवतजावत पूर्ण रुपमा नियन्त्रण गरिएको हुन्छ जसले उनीहरुको पासपोर्ट पनि पहिले नै जफत गर्छन् ।

त्यसैले पनि देश छाड्ने वा काम परिवर्तन गर्नेमा समेत कानुनी रुपमा उनीहरुकै नियन्त्रण रहने गर्दछ जसकारण यो प्रणालीलाई धेरै समस्याजनक मानिँदै आएको छ ।

नेपाल सरकारले २०१७ मा ल्याएको नयाँ नीतिले महिलाहरुलाई त्यस्ता दुर्व्यवहार र उत्पीडनबाट जोगाउने अपेक्षा गरिएको थियो । तर उल्टै यसले कामदारहरुको समस्या जटिल पारिदिएको द गार्जिएनमा प्रकाशित एक समाचारमा उल्लेख छ ।

आफ्ना कामदारहरुलाई विदेशी भूमिमा सुरक्षित वातावरण दिलाउन चौतर्फी दबाबमा आएपछि नेपाल सरकारले केही वर्ष अगाडि मात्र खाडी मुलुकमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको हो ।

२०१७ देखि कार्यान्वयन गरिएको यो नयाँ नीति विशेषगरी महिलाहरुलाई अवैध तस्करी र हिंसाबाट जोगाउनका लागि ल्याइएको नेपालको श्रम विभागका प्रवक्ताले द गार्जियनसँग बताएका छन् ।

तर अर्कोतर्फ मानव अधिकारवादी कार्यकर्ताहरु भने उक्त भनाइसँग सहमत छैनन् । सो नियमले नेपाली घरेलु कामदारलाई दुर्व्यवहार र उत्पीडनबाट बचाउने नभएर महिला विरुद्ध भेदभाव बढाएको उनीहरुको आरोप छ ।

एक तिहाइ नेपालीहरुको कमाइ प्रति दिनको तीन डलर मात्र रहेको छ जसले नेपाललाई अत्यन्तै गरिब देश बनाउँदछ । यस्तोमा आम्दानी गर्न हतारिएका नेपाली महिलाहरुका लागि खाडी सबैभन्दा लोकप्रिय गन्तव्य मानिँदै आएको छ जहाँ कतिपय घरेलु कामदारले मासिक ४०० डलरसम्म कमाइ गर्न सक्छन् ।

यसकारण पनि सरकारको उक्त प्रतिबन्धले महिलाहरुलाई रोजगारको सिलसिलामा खाडीमा जानबाट रोकेको छैन ।

उनीहरु नेपालबाट सीधै खाडी नगए पनि छिमेकी देश भारत हुँदै त्यहाँ पुग्ने गरेका छन् । त्यसैले पनि गन्तव्यमा पुग्नु अगाडि नै उनीहरु तस्करी र उत्पीडनको शिकार हुने सम्भावना अधिक छ । विशेषगरी काम मिलाइदिने भन्दै विभिन्न एजेन्टहरुबाट हजारौँ महिला ठगिने र बेचिने गरेका छन् ।

काठमाडौँस्थित एक आप्रवासी अधिकारवादी गैरसरकारी संस्था पौरखीकी निर्देशक मन्जु गुरुङ भन्छिन्, “प्रायः नेपाली महिलाहरु विदेश जाँदा नेपालमा कानुनी रुपमा दर्ता भएकै हुँदैनन् जसले पनि उनीहरुलाई संवेदनशील बनाउँछ । यसकारण महिलाहरु कम पारिश्रमिक दिइने वा बेतलबी राखिने, पासपोर्ट खोसिने जस्ता समस्याको शिकार हुन्छन् । यति मात्र नभएर उनीहरुले शारीरिक हिंसा र यौन उत्पीडनको समेत सामना गर्नुपर्छ । यसरी तिनलाई आधुनिक समयका दास सरह व्यवहार गरिन्छ ।”

अर्को एक घटनामा भने ३३ वर्षीया शुशान्ति (नाम परिवर्तन) तीन वर्ष अगाडि क्लिनरका रुपमा दुबइ गएकी थिइन् ।

गतवर्ष मात्र उनी गर्भवती भइन् तर बच्चाको पिताले यसबारे थाहा पाएपछि उनलाई छाडेर गए ।

यूएइमा विवाहपूर्वको शारीरिक सम्पर्कलाई अवैध मानिन्छ भने एक वर्षसम्मको जेल सजायँ पनि हुन सक्छ ।

यस्तोमा उनले ६ महिनासम्म आफ्नो अवस्था लुकाइन् र कसैले थाहा नपाउन्जेल काम गरिरहिन् ।

सुशान्तिलाई थाहा थियो कि उनले यसमा नेपाली अधिकारीहरुसँग मद्दत माग्न सक्दिनन् ।

त्यसैले उनी ऋण गरेर काठमाडौँको टिकट काटि नेपाल फर्किइन् । तर उनका समस्या अझै सकिएका थिएनन् ।

अविवाहित अवस्थामा गर्भवती भएको हुँदा उनी आफ्नो परिवारकहाँ जान सकिनन् । अहिले उनी आफ्नी छोरीसँगै एक आश्रममा बस्छिन् जहाँ उनले नयाँ चुनौतिहरुको सामना गुर्न परिरहेको छ ।

नेपालको नागरिकता कानुनका अनुसार विदेशी पिता भएका छोराछोरीको नेपालमा जन्म दर्ता गराउन मिल्दैन । यस्तोमा विदेशी कामदारहरुका बालबालिका धेरै अवस्थामा राष्ट्रविहिन हुने गरेका छन् जसले उनीहरुलाई उच्च शिक्षाबाट वञ्चित गराउन सक्छ, कानुनी रुपमा काम गर्न पाउँदैनन् भने उनीहरुले पासपोर्टका लागि पनि निवेदन भर्न पाउँदैनन् ।

यसकारण धेरै यस्ता महिलाहरु आफ्ना छोराछोरीलाई अनाथ आश्रममा पठाउन बाध्य हुन्छन् । जहाँ कसैले ‘एडप्ट’ गरेमा तिनीहरुले नयाँ नाम पाउने उनीहरुको आशा हुन्छ ।

प्रायः अवस्थामा ती महिलाहरुलाई परिवार र समाजले स्वीकार नगर्ने हुनाले पनि उनीहरु आफ्ना मान्छेकहाँ फर्कन नसक्ने गुरुङ बताउँछिन् ।

अहिले भने शुशान्ति आफ्नी छोरीलाई नेपालमै छाडेर पुनः कामका लागि विदेशिने तयारी गरिरहेकी छन् ।

उनी भन्छिन्, “नेपालमा मेरो परिवार अत्यन्तै कडा छ । त्यसैले म उहाँहरुलाई आफ्नो अवस्था बताउन सक्दिनँ । तर अहिले मसँग मेरी छोरी पनि छ र म पैसा कमाउन फेरि दुबइ जाँदैछु । म फेरि विदेश गइनँ भने मलाई कस्ले पैसा दिन्छ ? मैले छोरीका लागि भएपनि कमाउनैपर्छ ।”- द गार्जियनबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।