निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान : फर्किए ५८२ यात्रु

काठमाडौँ, जेठ २० गते । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् ।

निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ । निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो । नेपालमा बन्दाबन्दीका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले समान १५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको जानकारी दिनुभयो । उहाँले तीनवटै उडानका जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले दिउँसो काठमाडौँ आइपुग्नेछन् । काठमाडौँ–हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ । तीमध्ये वाइडबडी जहाज भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।

गन्तव्यमा निगमले एकैपटक यति धेरै यात्रु लगेको पहिलोपटक हो । त्यसो त निगमले सामान्य अवस्थामा यो गन्तव्यमा नियमित उडान गर्दै आएको छ । बन्दाबन्दीको अवस्थामा हवाई उडानसमेत स्थगन गरिएको अवस्थामा निगमले चार्टर्ड उडान गरेको हो । निगमका अपरेसनल विभाग प्रमुख दीपु जुहार्जनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै ‘एकै दिनमा काठमाडौँबाट हङकङ यतिका धेरै उडान तथा यात्रु सङ्ख्या निगमको इतिहासमा सायदै कुनै अभिलेख होला’ भन्नुभएको छ ।

बन्दाबन्दीको अवस्थामा निगमले आफ्नो उड्डयन इतिहासमै वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । तेस्रोपटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा आगामी जेठ २६ गते (जुन ८ तारिखका दिन) चार्टर्ड उडान गर्दैछ । यी सबै उडान मलेशियाको क्वालालम्पुर हँुदै करिब १३ घण्टाको हुनेछन् ।

हङकङमा थप तीन चार्टर्ड उडान
नेपाल एयरलाइन्सले हङकङ गन्तव्यमा थप दुई चार्टर्ड उडान गर्दैछ । आगामी जेठ २१, २२ र २३ गते (जुन ३, ४ र ५ तारिख) मा हङकङका लागि चार्टर्ड उडान तालिका रहेको निगमका प्रवक्ता खड्काले बताउनुभयो । यी उडानमा पनि निगमका दुई न्यारोबडी र एक वाइडबडी जहाज प्रयोग गरिनेछ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) हङकङले नेपाली महावाणिज्य दूतावाससँगको पहलमा नेपालमा रोकिएका हङकङेली फर्किएको बताएको छ । नेपालबाट गएका हङकङवासी १४ दिन क्वारेन्टिनमा बस्नेछन् । नेपालमा करिब एक हजार ३०० नेपालीमूलका हङकङवासी बन्दाबन्दीका कारण रोकिएका छन् । एक महिनाअघिदेखि फर्किन चाहनेको गैरआवासीय नेपाली सङ्घ हङकङले नामावली सङ्कलन गरेको थियो ।

निगमले आगामी जेठ २५ गते (जुन ७ तारिख) मा वाइडबडी जहाजमार्फत जापानको नारितामा सातौँपटक चार्टर्ड उडान गर्ने निश्चित भएको जनाएको छ । निगमले दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । बन्दाबन्दीको दुई महिनाभन्दा बढीको अवधिमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । यसमा सर्वाधिक उडान भर्ने नेपाल एयरलाइन्स रहेको छ । दोस्रोमा कतार एयरवेज छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।