कौसीमा यसरी लटरम्मै गमले स्याउ

चिप्लेढुङ्गा, जेठ २६ गते । पोखरा–७ मासबारस्थित घरको छतमा लटरम्म पेपिनो मेलन अर्थात् गमले स्याउ फलेको छ । बन्दाबन्दीको समयलाई भरपुर सदुपयोग गर्दै लोचना अधिकारी र उहाँका श्रीमान् लालबहादुर पौडेल यतिबेला गमले स्याउको उत्पादमा व्यस्त हुनुहुन्छ ।

पेशाले सहारा आधारभूत विद्यालयका प्रधानाध्यापक अधिकारी कृषिकर्ममा पनि उत्तिकै चासो राख्नुहुन्छ । बन्दाबन्दीको समयमा उहाँको करेसाबारी होस् या कौसी होस् पेपिनो मेलन र अन्य तरकारी फलाएर आफ्नो कृषिकर्मलाई उजागार गर्नुभएको छ । उहाँसँगै नयाँ फल गमले स्याउको उत्पादनमा श्रीमान् लालबहादुर पौडेल पनि सक्रिय हुनुहुन्छ ।
राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील पौडेलले काठमाडौँ भाटभटेनीमा यो फल पहिलोचोटी देखेको बताउनुभयो ।

“निकै महँगो हुँदो रहेछ त्यतिबेला भाटभटेनीमा रु एक हजार २०० मा बिक्री हुने रहेछ । बहुउपयोगी गुण भएको यस फलका बारेमा बुझ्दै जाँदा निकै राम्रो लाग्यो र बेर्ना खोजेर यस फलको उत्पादनमा हामी लाग्यौँ ।” शुरुमा आफ्नै लागि मात्रै लगाए पनि पछिल्लो समय यसको व्यावसायिक उत्पादनमा जोड दिन थालेको उहाँको भनाइ छ ।

अधिकारीले अधिवक्ता महेन्द्रमान व्यथितबाट पेपिनो मेलनको बहुउपयोगी गुणका बारेमा जानकारी पाएपछि यस फलको बिरुवा खोजीमा लागेको बताउनुभयो । “हामी दुवैले यसका बारेमा बुझ्यौँ र काठमाडौँबाट एउटा बेर्नाको रु ५०० का दरले १५ वटा बेर्ना किनेर ल्यायौँ, तर शुरुका बेर्ना अत्यधिक पिना र हड्डीको धुलोले गर्दा मर्न थालेपछि ल्याएका नयाँ २५ बेर्ना भने जोगाउन सफल भयौँ ।” अधिकारीका अनुसार यस फलको दाना प्रशस्त पाकेपछि रातो हुन्छ र खाँदा गुलियो हुन्छ । जुस, जाम र वाइनका रुपमा पनि यसलाई खान सकिन्छ भने काँचोमा यसलाई तरकारीका रुपमा पनि प्रयोग गर्न सकिन्छ । एक वर्षीय सदावहार बिरुवा भए पनि नमर्ने भएकाले फल लागेका पुरानो हाँगा काटेर फेरि पनि हाँगा पलाउने र फल्ने हुँदा यसलाई बहुवर्षीय बिरुवा मानिन्छ ।

इजरायली चिनी रोग एशोसिएसनका अनुसार यस फलमा चिनीको मात्रा एकदम न्यून हुने भएकाले सुगरका (चिनीरोग) बिरामीलाई पनि उपयोगी मानिन्छ । उहाँले करेसाबारीमा फलेको भन्दा कौसीको गमलामा फलेको फल बढी स्वादिष्ट हुने गरेको सुनाउनुभयो । एउटा गमलामा चार पाँच किलोसम्म फल लाग्ने गरेको छ । उहाँले सामाजिक सञ्जालमा पेपिनो मेलनको बारेमा राख्न थालेपछि धेरैले चासो दिन थालेका छन् । कति घरमै आएर फल चाख्ने र बेर्ना लिएर जाने गरेका छन् ।

अहिले १५० किलोसम्म फल फलेको छ । यो फल अहिले ३०० देखि ५०० किलोसम्म बिक्री वितरण हुँदै आएको अधिकारीले बताउनुभयो । अहिले अधिकारी दम्पतीको रहर व्यावसायिकतातर्फ मोडिँदै गएको छ । फल बहुउपयोगी भएको थाहा पाएपछि आफन्त इष्टमित्र, साथीभाइलाई यो फल चखाउने र जानकारी दिन सक्रिय दम्पतीले करिब ५०० बेर्ना बेचिसक्नुभएको छ । “शुरुमा हामीले फलबारेमा जानकारी दिँदै स्वाद चाख्न दिन्छौँ, बेर्ना लिन चाहानेलाई एउटा बेर्नाको ३०० मा बिक्री गर्छौं”, शुरुमा ५०० मा बेर्ना बेच्ने गरेको र पछिल्लो समय ३०० मा बेच्न थालेको पौडेलले बताउनुभयो । आवश्यक परे घरमै गएर पनि गमलामा बेर्ना रोप्न र स्याहार गर्न सिकाउने गरेको उहाँको भनाइ छ । यस फललाई नेपालमा भित्र्याएर व्यावसायिकखेती प्रवद्र्धनमा पाथिभरा आयुर्वेदिक अस्पतालका अध्यक्ष बिपी तिमिल्सिनाको योगदान रहेको छ ।

दशक अगाडि क्यानाडाबाट आएका एक विदेशी साथीले बारबरा एडम्सको एक कार्यक्रममा त्यो फल चखाएका थिए । असाध्यै स्वादिलो र बहुउपयोगी भनेर भने पनि ती साथीले त्यो फलका बारेमा थप जानकारी दिएनन् । तिमिल्सिनालाई फलका बारेमा जान्न र त्यसको उत्पादनमा रुचि लाग्यो ।

दक्षिण अफ्रिकाको सिसेन घुम्न गएका एक गुरुङ थरका साथीलाई त्यसबारेमा सोधेर बेर्ना मगाउनुभयो । बडो जतनका साथ साथीले त्यस फलको बेर्ना ल्याइदिएपछि तिमिल्सिनामा उत्साह थपियो । अन्ततः उहाँले बेर्ना जोगाएर कलमी गरेर थुप्रै बिरुवा बनाएर यसको प्रवद्र्धन गर्न सफल हुनुभयो । अहिले देशका विभिन्न जिल्लामा यो फल पुगेको छ ।

तिमिल्सिनाका अनुसार यो दक्षिण अमेरिकाबाट संसारभर फैलिएको फल हो । पेरु, न्यूजिल्याण्ड, अष्ट्रेलिया, जापानलगायतका देशका व्यावसायिकखेती हुने गरेको यस फल महँगो फलअन्तर्गत पर्छ । यसको बोट ९० देखि १५० सेमीसम्म उचाइको हुने गर्छ । अध्यधिक चिसो नहुने सुक्खा ठाउँमा पनि यसको राम्रो उत्पादन हुने गर्छ । भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘के’ तत्व हुने भएकाले यसले उच्चरक्ताचाप घटाउन, ग्याष्ट्रिक र अल्सरजस्ता रोगसँग लड्न प्रतिरोधात्मक क्षमता वृद्धि गराउँछ । मानव स्वास्थ्यका निम्ति प्रकृतिको वरदान मानिने यस फल इन्सुलिन नलिएका मधुमेहका बिरामीका लागिसमेत लाभदायक हुने उहाँको भनाइ छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।