स्तरोन्नतिको कार्यसम्पन्नपछि दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान सफल

डोटी, २८ जेठ । कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको टोलीले मङ्गलबार पहिलोपटक उक्त विमानस्थलमा आफ्नो स्काइ ट्रकबाट परीक्षण उडान गरेको राजपुर ब्यारेकले जनाएको छ ।

सेनाको जहाजले एयरपोर्टको पूर्वी तथा पश्चिमी मोहडाबाट दुईपटक परीक्षण उडान गरेको रुद्रध्वज गणा गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताउनुभयो । उनले भने, “हाम्रो जहाजले हावाको मापन गर्न एयरपोर्टको दुईतिरकै ठाउँबाट परीक्षण उडान गरेको छ, दुवै मोहडाबाट जहाज सहज तरिकाले अवतरण गर्न सफल भएको छ ।”

दिपायल विमानस्थल नेपालका अन्य विमानस्थलभन्दा राम्रो वातावरणको भएको र यहाँ जुनसुक्कै समयमा पनि जहाज उडान तथा अवतरण गर्न सहज हुने आज परीक्षण उडान भर्ने नेपाली सेनाका चालक दलका सदस्यले बताएका छन् । स्तरोन्नति कार्यसम्पन्न भएको पहिलोपटकमा नेपाली सेनाको जहाजले दिपायल विमानस्थलमा परीक्षण उडान गरेपछि दिपायलमा जहाज चल्ने आशामा यहाँका स्थानीयवासी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताए । उनले भने, “एयरपोर्टको सम्पूर्ण स्तरोन्नति सकिएर सेनाले परीक्षण उडानसमेत गरिसकेको छ, अब जहाज चल्छ कि भन्नेमा आशावादी भएका छौँ ।” लामो समयदेखि यात्रु अभावका कारण देखाउँदै बन्द अवस्थामा रहेको विमानस्थल डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा स्तरोन्नति तथा कालोपत्रको काम गरिएको हो ।

करिब रु साढे ५ करोड लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नति सम्पन्न भएको सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताए । उनले भने, “विमानस्थलको सम्पूर्ण निर्माणकार्य सकिएको छ, अब नियमित उडान गराउनका लागि सबै राजनीतिक दल तथा नेताले एकजुट हुन जरुरी छ ।” विमानस्थलको सम्पूर्ण काम सम्पन्न भइसकेको अवस्थामा नियमितरूपमा जहाज सञ्चालन गर्न स्थानीयवासीको माग छ ।

गत वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा कालोपत्रसहितको निर्माण शुरु गरिएको दिपायल विमानस्थल कालोपत्रलगायत काम अहिले आएर सकिएसँगै परीक्षण उडानसमेत सम्पन्न भएको छ । दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न सके यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडीकेदार, वैद्यनाथधामलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन निकै सहज हुने डोटीका पर्यटन व्यवसायी तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए । उनले भने, “सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँ हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके, पर्यटकमात्रै भित्र्याउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो र आम्दानी हुनेछ ।”

त्यस्तै सेनाको टोलीले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर र बझाङको चैनपुर विमानस्थलमा समेत मङ्गलबार हवाई निरीक्षण गरेको छ ।

सुर्खेतबाट आएको नेपाली सेनाको जहाजले ती सबै विमानस्थलको हवाई निरीक्षण गरेको हो । पछिल्लो समय यहाँका पाटन, चैनपुर र दिपायल विमानस्थल कालोपत्र भएर परीक्षण उडानका लागि तयारी अवस्थामा रहेका छन् ।

उता दार्चुलाको गोकुलेश्वर विमानस्थल भने कालोपत्र नभएका कारण बन्द अवस्थामा छ । सुदूरपश्चिम प्रदेशमा हाल गेटा विमानस्थलमात्रै सञ्चालनमा छ । नेपाली सेनाको जहाजले सुदूरपश्चिमको दिपायलबाहेकका अन्य बन्द रहेका विमानस्थलमा हवाई परीक्षण गरेको बताइएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।