तिहार लक्षित सयपत्री फूल खेतीमा व्यस्त धनकुटाका कृषक पौडेल, ८ हजार माला उत्पादन गर्ने लक्ष्य
मानवी मोक्तान,धनकुटा । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा सयपत्री फूलको माग बढ्न थालेको छ। तिहारमा घर आँगन , झ्याल ,ढाेका सजाउन, दिदीबहिनीले दाजुभाइलाई माला लगाइदिन तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यमा सयपत्री फूलको विशेष महत्व रहने गर्दछ। यही मागलाई अवसरका रूपमा लिँदै धनकुटाका एक कृषक सयपत्री फूल खेतीमा व्यस्त हुनुहुन्छ।
धनकुटाको महालक्ष्मी नगरपालिका–९ र छथरजोरपाटी गाउँपालिका–६ को क्षेत्रमा रहेको श्री पौडेल कृषि फर्मका सञ्चालक खगेन्द्र पौडेल यतिबेला सयपत्री फूल टिप्न र बजार पठाउन भ्याइनभ्याइ हुनुहुन्छ।
करिब १० रोपनी क्षेत्रफलमा १२ हजार सयपत्री फूलका बिरुवा रोप्नुभएका कृषक पौडेलले यस वर्ष ७ देखि ८ हजारवटा फूलका माला उत्पादन हुने अपेक्षा गर्नुभएको छ। तिहारलाई लक्षित गरी गरिएको फूल खेतीबाट राम्रो उत्पादन हुने देखिएपछि उहाँ उत्साहित हुनुहुन्छ।
तरकारी खेती गर्दै आउनुभएका पौडेलले फूल खेती कस्तो हुन्छ भन्ने जिज्ञासासहित यस वर्ष सयपत्री फूल खेती सुरु गर्नुभएको हो। तर पहिलो प्रयासमै फूलको राम्रो उत्पादन र बजारमा बढ्दो माग देखेपछि उहाँले फूल खेतीलाई पनि आम्दानीको सम्भावना बोकेको व्यवसायका रूपमा लिनुभएको छ।
हाल उहाँले सयपत्री फूल प्रतिकेजी तीन सय रुपैयाँका दरले बिक्री गरिरहनुभएको छ। उत्पादित फूलको माग काठमाडौं, झापा, बिर्तामोड, बुटवल, विराटनगर तथा धरानलगायतका सहरबाट आउन थालेको उहाँले बताउनुभयो।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भए पनि स्वदेशमै पर्याप्त उत्पादन नहुँदा बजारमा बाहिरबाट समेत फूल ल्याउनुपर्ने अवस्था रहँदै आएको छ। यस्तो अवस्थामा स्थानीय स्तरमै फूल खेती विस्तार गर्न सके कृषकको आम्दानी बढाउनुका साथै फूलमा आत्मनिर्भर बन्नसमेत सहयोग पुग्न सक्छ।
परम्परागत रूपमा तरकारी खेती गर्दै आउनुभएका कृषक पौडेलको फूल खेतीप्रतिको यो प्रयासले व्यावसायिक कृषिमा नयाँ सम्भावना देखाएको छ। मेहनत र लगनशीलताका साथ गरिएको कृषि कर्मले आफ्नै गाउँघरमा पनि राम्रो आम्दानीको बाटो खोल्न सक्छ भन्ने उदाहरण उहाँको सयपत्री फूल खेती बनेको छ।






