प्रदेश १ को नीति तथा कार्यक्रम पारित

काठमाडौं, जेठ २८ । प्रदेश नं १ प्रदेशसभाको बसेको बैठकले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम आज बहुमतले पारित गरेको छ। यही जेठ २३ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सदनमा नीति तथा कार्यक्रम पेश गरेका थिए भने तीन दिनको छलफलमा ५२ जना सदस्यले भाग लिएका थिए।

छलफलमा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफमा मुख्यमन्त्री शेरधन राईले नीति तथा कार्यक्रमले प्रदेशका जनताको भावना समेटेको चर्चा गर्दै कोरोनाको महामारीविरुद्ध लड्न सबै एकढिक्का भएर लाग्नुपर्ने विचार राखे। उनले सरकारले कृषि, शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउँदै प्रत्येक जिल्लाको अस्पताललाई स्तरोन्नति गर्ने, उर्लावारीको अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टर बनाउने, धनकुटा जिल्लामा शिक्षण अस्पताल बनाउने तयारी भइरहेको धारणा राखे।

मुख्यमन्त्री राईले स्वास्थ्य वीमा, ज्येष्ठ नागरिक सम्मान, रोग पालेर होइन फाल्ने कार्यक्रमले जनतालाई राहत पुग्ने भन्दै वैदेशिक रोजगारीमा रहेका युवाहरुको ज्ञान, क्षमता र दक्षता प्रयोग गर्न सरकारले अनलाइन फारम भर्ने योजना ल्याएको जानकारी दिए। उनले इलाममा चिया प्रशोधन केन्द्र निर्माण गर्ने, उत्पादन किसानको मूल्य र बजार सरकारको नाराले कृषकहरुलाई राहत पुग्ने भन्दै कोरोनाका कारण कृषि क्षेत्रलाई बढावा दिन ल्याएका कृषि राहत प्याकेजबाट कृषक लाभान्वित हुने कुरामा जोड दिए।

मुख्यमन्त्री राईले फलफूलमा आत्मनिर्भर बनाउन सरकारले योजना ल्याएको बताउँदै निर्वाचन क्षेत्र विकास र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले बहुवार्षिक सडक योजनाले प्रत्यक्ष रुपमा सरकार र जनतासँग जोड्न सकिने धारणा राखे। विद्युत् उत्पादन, विपन्न लक्षित कार्यक्रम, पर्यटकीय पूर्वाधार निर्माण, वन संरक्षण र व्यवस्थापन जस्ता योजनाले जनता लाभान्वित हुने भन्दै सरकारले शान्ति सुरक्षा सुव्यवस्थित गर्ने र विपन्न परिवारको पहिचान खुल्ने परिचयपत्र वितरण गर्ने सरकारको आगामी आर्थिक वर्षमा कार्य योजना रहने स्पष्ट पारे।

उनले प्रदेशको १४ वटै जिल्लामा पर्यटकीय पूर्वाधार विकास योजना सम्पन्न गर्न गुरु योजना बनाउने, ५० वटा योजनालाई योजना बैंकमा समावेश गर्नु, विराटनगरको रानीमा प्रदेश झल्कने प्रवेशद्वार निर्माण गर्ने, इटहरीमा अन्तराष्ट्रिय स्तरको सभाहल निर्माण गर्ने जानकारी दिए। उनले यस प्रदेशमा २४२ जना कोरोना संक्रमितमा १२४ जना निको भएर फर्किसकेका, १३ हजारभन्दा बढीको पीसीआर परीक्षण गरिसकेको र अब दिनमा ५०० देखि एक हजार जनाको कोरोना परीक्षण हुने जानकारी दिए।

मुख्यमन्त्री राईले प्रदेशको नामकरण प्रदेशसभाको क्षेत्राधिकारभित्र पर्ने भएकाले सहमतिमै प्रदेशको नाम टुंगो लाग्ने चर्चा गरे। नीति तथा कार्यक्रममा समाजवादी पार्टीको तर्फबाट प्रदेशसभा सदस्य जयराम यादव तथा नेपाली कांग्रेसको तर्फबाट केदार कार्की र शेखरचन्द्र थापाले केही बुँदामा असहमति जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएका थिए।

यसैबीच प्रदेशसभाको आजको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। आजको बैठकमा सांसदहरु उषाकला राई, गोपालचन्द्र बुढाथोकी, नारायणबहादुर मगर, विन्दिया कार्की, सञ्जाकुमारी दनुवार, सरिता थापा रसावित्रा जोशीले भाग लिएका थिए। प्रदेशसभाको अर्को बैठक असार १ गते अपरान्ह ३ बजे बस्नेछ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।