निषेधाज्ञाले सिकायो पाठ: घरघरमा करेसाबारी र कौसीखेती

भरतपुर, भदौ १७ गते । को’रोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ। खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो। को’रोना सङ्क्र मितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो पत्तो छैन ।

यतिबेला कृषि कर्म बाहेकका सबै रोजगारी र व्यवसायका ढोका बन्द अवस्थामा छन् । खेतीयोग्य जमिन शहरमा ज्यादै कम छ। जमिनमा घर फलेका छन् तर सबै घरमा कौसी र छत छँदैछन् । हरेक कौसीमा तरकारीलगायत घरका लागि उपयोगमा आउने हरेक प्रकारका तरकारी फलाउन घरमै थुनिएका भरतपुरवासी व्यस्त छन् । अन्य काममा जान नपाएपछि करेसाबारीसँगै घर छेउछाउका बाँझा जग्गा खनेर तरकारी रोप्ने उनीहरुको दिनचर्या बनेको छ ।

भरतपुरको शहरी क्षेत्रमा धान फल्ने फाँटमा घर भरिएका छन् । खेती गर्ने जमिन खासै छैन । कौसी हराभार हुने, आफ्नो घरबारीमा हरियाली देख्न पाइने र आफ्नै बारीको तरकारी टिपेर खान पाइने भएका कारण करेसाबारी र कौसी खेतीमा नागरिकको आकर्षण बढेको हो । भरतपुर–१२ की अनिता आचार्य आफ्नो अफिस नियमित नभएपछि तरकारी लगाउन व्यस्त हुनुहुन्छ ।

आफ्नो जग्गा नभए पनि घर छेउको खाली जमिनमा तरकारी लगाएको उहाँले बताउनुभयो । यतिबेला साग, मुला, धनियाँ, खुर्सानी लगायतका तरकारी लगाएको उहाँले बताउनुभयो । आफ्नो जग्गा नहुनेले पनि खाली र बाँझो जमिनमा खेती गरिरहेका छन् । भरत पुर–११ की चन्द्रमाया पाण्डेले घरको उत्पादनले आफूलाई खुशी मिलेको बताउनुहुन्छ । शहरी क्षेत्रमा बालबच्चालाई फल फलेको देखाउनु पनि ठूलो कुरा हुन थालेको उहाँले बताउनुभयो ।

“घरमै तरकारी फलाउँदा आर्थिक बचत भएको छ । बारीमा काम गर्न पाउँदा शरीर स्वस्थ भएको छ”, उहाँले भन्नुभयो, “चार जनाको परिवारले तरकारीमा दिनको १०० मात्र खर्चिंदा पनि वर्षमा हजारौँ रुपैयाँ खर्च भइ रहेको हुन्छ ।” निषेधाज्ञाले बजार बन्द छ ।आफ्नै बारीमा उत्पादन भएको ताजा र हरियो तरकारी खान पाइएको भरतपुर–२ का यमकली क्षेत्रीले बताउनुभयो ।

“यसअघि दैनिक तरकारी किन्नुपर्ने अवस्था थियो । अहिले त्यो अन्त्य भएको छ । कहिलेकाहीँ मात्र किन्ने गरेको छु”, उहाँले भन्नुभयो, “पहिले किनेर खाने गरेका थियौँ, अहिले आफैँ घरमा गर्नुपर्छ भन्ने लाग्यो ।” केही वर्षअघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली भएको उहाँले बताउनुभयो । आफ्नो टोलका सबैले घरमै तरकारी लगाइरहेको उहाँले बताउनुभयो ।

भरतपुरमा करेसाबारी र कौसीखेतीको अभियान शुरु गरेको प्रदेशसभा सांसद विजय सुवेदीले अभियानले स्थानीयलाई तरकारीमा आत्मनिर्भर बनाएको बताउनुभयो । उहाँले थोरै जग्गामा पनि आफूलाई पुग्ने तरकारी सबैले गर्न सक्ने सुझाव दिनु भयो । “जग्गा नभएका स्थानीयले पनि कौसीमा तरकारी फलाउन सक्छन् । घर अगाडिको खुला भागमा पनि तरकारीखेती गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “आफ्नो निर्वाचन क्षेत्रका नागरिक सबैको घरघरमा तरकारी फलेको देख्ने आफ्नो इच्छा रहेको छ ।”

उहाँले आफँै पनि घरमा कौसी र करसाबारी खेती गर्दै आउनु भएको छ । “भारतबाट आयातित तरकारीले नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ । पर निर्भरता बढाएको छ” उहाँले भन्नुभयो, “त्यसको अन्त्य गर्न करेसाबारी र कौसीखेती प्रभावकारी बन्दै गएको छ ।” यो अभियानलाई निरन्तरता दिनसके एक/दुई वर्षमा भरतपुरवासीले बाहिरको तरकारी किन्नु नपर्ने उहाँको भनाइ छ ।

अहिले भरतपुरका जग्गा खाली देखिँदैन । आफँै तरकारी फलाउने बानीको समेत विकास भइरहेको छ। कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले करेसाबारी र कौसी खेतीका लागि कार्यालयले प्रोत्साहन गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले जैविक मलमा प्रोत्साहन गरिरहेका छौँ, यसरी तयार गरिएको मलले तरकारीमा किरा लाग्दैन ।

जैविक मल आफैँ बनाउन सकिन्छ । यसले मल र विषादीको काम गर्छ”, उहाँले भन्नुभयो, “यसरी उत्पादन गरेको तरकारी पूर्ण स्वास्थ्यकर हुन्छ ।” करेसाबारी र कौसी खेतीका कारण ताजा र स्वास्थ्यकर तरकारी घरमै उपभोग गर्न पाउने उहाँले बताउनु भयो । “कोभिडको महामारीको समयमा यो खेती झन आवश्यक छ”, उहाँले भन्नुभयो, “घरमै फलाउनसके बजारको भीडभाडमा गइरहनु पर्दैन ।”

भरतपुरवासीले घरमै कौसी खेती गर्ने हो भने यसले हरेक घरमा अधिकतम तरकारीको माग पूूरा गर्न सक्छ । यसले घरघरमा विषादीरहित तरकारी उत्पादन, पैसा बचत र वातावरणमा पनि राम्रो असर पु-याउँछ । को’रोना महामारीमा धेरै जनाले छोएको तरकारी किन्नुपर्ने, भिडभाडमा जानुपर्ने जस्ता कारणले सङ्क्रमणको सम्भावना बढी हुन्छ । आफ्नै तरकारी उत्पादन गर्नसक्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न त सकिन्छ नै स्वस्थ तरकारी खाँदा अन्य रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।