पहाड फुट्न थाल्यो : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

पर्वत, ६ असाेज । निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किनुपर्ने बाध्यता रहेको छ ।

एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर स्थानीय एक बालिकाको ज्यानसमेत गएको थियो । पैँतालीस घरधुरी रहेको एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका हुन् । स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर बस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताए ।

“यहाँ त हाम्रो त बिजोग नै भएको छ, पानी पर्लाजस्तो हुनासाथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धवृद्धासम्म सबै विद्यालयमा गएर सुत्ने गरेका छौँ । बिहान घर त बगेको रहेनछ भन्दै खुशीले घरमा गएर फेरि काम सम्हाल्छौँ”, उनले भने, “बस्तीमाथिको भिर चर्किएर झर्न थालेको छ । कतिबेला बस्ती नै पुरिने हो भन्ने टुङ्गो नै छैन । कतिबेला पहिरोले पुर्छ भनेर रातको निद्रा न दिनको भोक भएको छौँ ।”

उहाँका अनुसार त्यो बस्तीका करिब २७० जनाको यही बेहाल भएको छ । बस्तीबाट करिब एक किलोमिटरमाथि रहेको मन्धराको गुफा भन्ने स्थानबाट पहिरो झर्न थालेपछि गाउँले घर छोडेर हिँड्न बाध्य भएको स्थानीय सुमन गौडेलले बताए । पहिरो जान लागेको स्थानबाट झरेका ढुङ्गा बस्तीमै आइपुग्ने गरेकाले राति पहिरो आए जनधनको ठूलो क्षति हुने भएकाले विद्यालयमा आश्रय लिनुपरेको उनको भनाइ छ ।

यता फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पहिरोको जोखिममा रहेका बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया शुरु गरिएको बताए । अहिलेसम्म नगरपालिकामा सातवटा बस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले सङ्घ र प्रदेश सरकारसमक्ष सिफारिस गरिसकेको उनको भनाइ छ । सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुनःसिफारिस गर्न सकिने पनि नगरप्रमुख शर्माले बताए । उनले तत्काललाई आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत आग्रह गरे ।

पहिरोका कारण वडा नं ४ कै चुरी, वडा नं ३ को पुर्कोट र रुग्दी, वडा नं २ को दरदरे, वडा नं १० को फल्लालगायत गाउँ जोखिममा छन् । गाउँ पहिरोको उच्च जोखिममा रहेकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको निर्णयानुसार सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।