बेनीका पौरखी किसानको रहरलाग्दो कमाइ

कमल खत्री,बेनी । बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ वर्षीय युवा कमल पौडेल पशुपालनबाट गरेको आम्दानीले सन्तुष्ट हुनुहुन्छ । करिब नौ वर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले आफ्नै गाउँ ठाउँमा पसिना बगाउने निधो गर्नुभयो । आफ्नै रोजाइको व्यवसायका रुपमा कुखुरा र गाईभैँसी पालनमा उहाँ होमिनुभयो ।

पौडेलको फार्ममा अहिले १० वटा भैँसी र एउटा गाई छन् । दैनिक उहाँको फार्मबाट एक सय लिटरको हाराहारीमा दूध उत्पादन हुन्छ । विहान उठेदेखि बेलुकीसम्म उहाँको समय पनि फार्ममै बित्छ । गाईभँैसीको स्याहार सुसार र बजारसम्म दूध पु¥याउने पौडेलको नियमित दैनिकी हो । दूध उत्पादनसँगै कुखुरा पाल्दै आउनुभएका पौडेलले गोठ र कुखुराको खोर व्यवस्थित रुपमा निर्माण गर्नुभएको छ । यो व्यावसायमा रु ५० लाखभन्दा बढी नै लगानी भइसकेको उहाँ बताउनुहुन्छ ।

अध्ययनको क्रममा केही समय बेनीमा रोजगार रहेका पौडेलले आफ्नो घर जिल्लाको सदरमुकाम बेनी नजिकै रहेको र बजारको अभाब पनि नहुने देखेपछि व्यावसायिक पशुपालनमा पाइला चाल्नुभएको थियो । ‘‘शुरुवातमा लगानी गर्ने पैसा पनि थिएन, बैँकबाट ऋण नै गरेर गाईभैँसी खरिद गरेँ, पछि दूध बिक्री गर्न थालेपछि यहाँबाटै भएको आम्दानीलाई यसै फार्ममा लगानी गर्दै आएको छु’’– पौडेलले भन्नभयो ।

गत वर्ष भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् मोडल फार्मको रुपमा छनौट भएर रु २ लाख ५० हजार बराबरको अनुदानमा थप पूर्वाधार निर्माण गरेका पौडेलले पछिल्लो समय सरकारले समेत पशुपालन क्षेत्रलाई प्राथमिकता दिन थालेकोमा खुशी व्यक्त गर्नुहुन्छ । ‘‘ पशुपालन सुखको व्यवसाय होइन, यसबाट भएको आम्दानी र खर्चमा भने म सन्तुष्ट नै छु, यसैलाई थप व्यवस्थित गर्दै लैजाने हो’’–पौडेलले भन्नुभयो ।

यसै वडाको एकपाटेका युवा विनोद बानियाँ पनि पशुपालनमै होमिनुभएको छ । पाँच वर्षअघि दुईवटा भँैसीबाट दूध उत्पादनमा लागेका बानियाँले अहिले सात वटा भैँसी पाल्नुभएको छ । ‘‘विदेश जाने भनेर निकै समय लागेँ, लाखौँ पैसा दलालले खायो, त्यसपछि विदेश जाने मोह हरायो, आफ्नै ठाउँमा खालीहात बसेर पनि पुग्ने कुरा रहेन, त्यसपछि यहीँको माटोसँग खेल्ने निधो गरेर भैँसीपालनमा लागेको हुँ’’– बानियाँले भन्नुभयो । किसानको दूधको मूल्य नबढाउँदा भने लगानी र परिश्रम अनुसारको आम्दानी गर्न नसकिएको उहाँको दुखेसो छ ।

बानियाँसँगै उहाँका भाई मनोज बानियाँ पनि भैँसी र कुखुरापालनमै सक्रिय हुनुहुन्छ । बानियाँ दाजुभाइले पशुपंछी पालनसँगै तरकारी खेतीलाई समेत आम्दानीको स्रोत बनाउनुभएको छ । बेनीमा पौरखी कृषकका यी प्रतिनिधि युवाहरु हुन् । बेनी नगरपालिका–६ नम्बर वडामा दर्जनबढीले गाइभैँसी र कुखुरापालनबाट जिवनस्तर उकासेका छन् । बाँसबोटका जीवनप्रसाद पौडेल र रुद्र पौडेलले तीन वर्षदेखि युनियन कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गर्नुभएको छ । पौडेल दाजुभाइको फार्ममा ८ भैँसी, १ हजार ५ सय कुखुरा र २३ वटा बाख्रा रहेका छन् ।

एकपाटेका रामप्रसाद शर्मा र थाकनपोखरीका रमेश रेग्मीले समेत १०/१० भन्दा बढी र गोविन्द पौडेलले छ वटा भैँसी पाल्नुभएको छ । कुरीलाखर्कमा सुरेश ढुंगाना भैँसी र कुखुरा तथा कृष्णप्रसाद आचार्य भैँसीपालनमा क्रियाशिल हुनुहुन्छ । एकपाटेका अमृत बानियाँ, गणेश शर्मालगायत पनि कुखुरापालनबाटै आयआर्जन गर्न सफल हुनुभएको छ । दुग्ध उत्पादनको लागि गाईभैँसी, मासु र अण्डाको लागि कुखुरा पालन गर्दै आएका अधिकाँश युवा छन् र आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउँछन् ।

बेनी बजारमा खपत हुने ७५ प्रतिशत दूध बेनपा–६ बाटै पूर्ति हुने गरेको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभँैसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष समेत रहनुभएका कृषक जीवनप्रसाद पौडेलले बताउनुभयो । बेनी नगरक्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी कृषकले व्यावसायिक रुपमा दूध उत्पादन गर्ने गरी गाईभैँसी पालन गर्दै आएका छन् । समितिका अनुसार सामान्य अवस्थामा बेनी बजारमा मात्रै दैनिक एक हजार ५०० लिटरको हाराहारीमा दूध खपत हुने गर्छ । अहिले कृषकहरुले बजारमा प्रतिलिटर ९० रुपैयाँमा दुध बिक्री गर्दै आएका छन् । बेनी नगरपालिकासँगै जिल्लाको रघुगंगा, मंगला र मालिका गाउँपालिकामा समेत व्यावसायिक रुपमा गाईभैँसी पालनको लहर शुरु भएको छ ।

दुई दशकदेखि व्यावसायिक पशुपालन

बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेल दुई दशकदेखि पशुपालनमा आबद्ध हुनुहुन्छ । उहाँले शुरुदेखि नै व्यावसायिक रुपमा नै पशुपालन थाल्नुभएको हो । शरुमा दैनिक पाँच लिटर दूध सदरमुकाम बेनीमा ल्याएर बिक्री गर्ने गरेका पौडेल अहिले भने जिल्लाकै नमुना भँैसीपालक कृषकको रुपमा परिचित हुनुहुन्छ । विसं २०५६ देखि पशुपालन शुरु गर्नुभएका पौडेलले स्थापना गर्नुभएको बरदान पशुपंछी फार्ममा अहिले १८ वटा दुहुना उन्नत जातका भैँसी रहेका छन् ।

पौडेल भैँसीपालनबाट पनि रहरलाग्दो आम्दानी गर्न सकिन्छ भन्ने उहाहरणको रुपमा चिनिनुहुन्छ । दैनिक १५० लिटरको हाराहारीमा दूध बिक्री गर्दै आउनुभएका पौडेलले मासिक ४ लाख ५० हजार आम्दानी हुने बताउनुभयो । ‘‘सबै काम गर्न हामी परिवारले मात्रै सम्भव छैन, तीन जनालाई फार्ममा प्रत्यक्ष रोजगारी पनि दिएका छौँ, भैँसीको दाना र घाँस, तलबलगायतमा आम्दानीको ठूलो हिस्सा खर्च हुन्छ, बचत भएको रकमलाई फार्मकै क्षमता विस्तार र पूर्वाधार निर्माणमा खर्चिने गरेको छु’’– पौडेलले भन्नुभयो । पौडेलले यस फार्ममा अहिलेसम्म करिब ६० लाख लगानी भइसकेको बताउनुभयो ।

विदेशबाट फर्किएर बाख्रापालन

बेनपा–६ चुत्रेनीका ३० वर्षीय युवा कृष्ण मल्लले व्यावसायिक बाख्रापालनबाट रहरलाग्दो आम्दानी गर्न थाल्नुभएको छ । वैदेशिक रोजगारिको सिलसिलामा चार वर्ष इराकमा बसेर फर्कनुभएका मल्लले उन्नत जातको बाख्रापालन शुरु गर्नुभएको थियो । ‘‘विदेशबाट फर्कदा अष्ट्रेलिया जाने योजना थियो, यहाँ आएपछि मेरो सोच बदलियो, लाखौँ तिरेर फेरी विदेश पस्नुभन्दा यहीँ नै मेहनत किन नगर्ने भन्ने लागेर यता लागेको हुँ’’–उहाँले भन्नुभयो ।

बोयर र क्रस जातका बाख्रा पालनमा लागेका मल्लले एक वर्षको अवधिमा रु १० लाखभन्दा बढीका बाख्रा बिक्री गरिसकेको बताउनुभयो । मल्लको फार्ममा २५ वटा बोयर र क्रस बाख्रा रहेका छन् । कृष्ण बहुउद्देश्यीय कृषी तथा पशुपालन फार्म सञ्चालन गर्नुभएका मल्लले भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत् मोडल मार्फमा छनौट भएपछि साढे दुई लाख अनुदान लिएर खोरको क्षमता विस्तार गर्नुभएको छ । उहाँको फार्ममा ५० वटा बाख्रा राख्ने क्षमता छ ।

वडाभित्र पशुपालन र कृषितर्फ आकर्षण बढ्यो

बेनी नगरपालिका–६ का बस्तीहरुमा व्यावसायिक पशुपंछी पालन र तरकारी खेतीतर्फ युवाहरुको आकर्षण बढेको छ । बजारीकरणका लागि सदरमुकाम बेनी बजार नजिकै रहेकाले यहाँका युवाहरु यसतर्फ आकर्षित भएका हुन् । वडामा कुखुरा, गाईभैँसी, बाख्रा पालनसँगै तरकारी खेतीतर्फ समेत आकर्षण बढेको र यसको दायरालाई थप फराकिलो बनाउनेतर्फ जोड दिइएको वडा अध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो ।

उहाँका अनुसार यस वडाभित्र दुई दर्जनभन्दा बढी फार्म मोडल फार्मको रुपमा विकास भइसकेका छन् । ‘‘उत्साही युवाहरुले गरेका प्रयास सफल हुँदै गएका छन्, उनीहरुलाई तालिम, अनुदानमा सहजीकरण गर्ने काममा हामीले पुलको काम गरेका छौँ, नगरस्तरबाट उपलब्ध हुने सुविधाहरुमा पनि हातेमालो गरिरहेका छौँ’’–वडा अध्यक्ष बानियाँले भन्नुभयो । उहाँले वडा कार्यालयले गाउँबस्तीहरुलाई कृषिमा समेत आत्मनिर्भर गराउनको लागि हरेक घरमा टनेल राख्ने अभियानलाई समेत अघि बढाएको बताउनुभयो ।

पशुपंछी पालनलाई प्रोत्साहन

पशुपंछी पालन गर्ने कृषकहरुलाई पछिल्लो समय व्यवसाय विस्तारमा अनुदान उपलब्ध हुन थालेको छ । स्थानीय सरकारसँगै भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले समेत कृषकहरुलाई अनुदान उपलब्ध गराउन थालेको हो । गत आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले ठूलो सङ्ख्यामा कृषकलाई अनुदान बाँडेको थियो ।

कार्यालयले म्याग्दीका ३९ र मुस्ताङका तीन वटा फार्मलाई मोडल फार्मको रुपमा छनौट गरी पूर्वाधार निर्माणमा प्रत्येकलाई रु २ लाख ५० हजारका दरले अनुदान वितरण गरेको जनाएको छ । कार्यालयले गाईभैँसी, कुखुरा, बाख्रासँगै भेडापालन, दुग्ध पसल सुधार, मासु पसल सुधार, नष्ल सुधारका कार्यक्रममासमेत कृषकहरुलाई अनुदान दिँदै आएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।