सूर्योदय हेर्ने नयाँ गन्तव्य बन्दै हाँडीकोट

बागलुङ, कार्तिक ५

पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट बागलुङको हाँडीकोट पुगे।

ब्याडथलामा रात काटेका जिसी र उनका साथीहरु हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले बिहान चारै बजे उठेर उकालो लागे। एक घण्टाको पदयात्रापछि हाँडीकोट पुगे।

हाँडीकोटको टापुमा पाइला राख्दा/नराख्दै पूर्व क्षितिजमा लाली छायो । केही छिनमै सूर्य उदायो। ‘धेरै ठाउँको यात्रा गरियो तर हाँडीकोटबाट देखिने सूर्योदय अद्भुत नै लाग्यो,’ जिसीले भने। फोटोग्राफीमा पनि अब्बल जिसीले सूर्योदयको दृश्यलाई क्यामेरामा कैद पनि गरे।

बागलुङको जैमिनी नगरपालिका-७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोटमा आजभोली सूर्योदयको दृश्य हेर्नेको घुइँचो लाग्ने गरेको छ।

पर्यटन प्रवद्र्धनमा सक्रिय ‘घुमन्ते समूहका सदस्य, पत्रकारलगायतले दशैँको छेकोमा हाँडीकोटलाई लक्ष्य बनाएका हुन्। शुक्रबार मध्याह्नपख बागलुङ बजारदेखि यात्रा थालेका उनीहरु आइतबार बिहान मात्र हाँडीकोट पुगेका थिए। पहिलो दिन जैदी, सुन्तलाचौरमा रात काटेर भोलिपल्ट बिहान हात्तीढुङ्गा, बेलबगर, गाईधुने गुफा हुँदै ब्याडथला पुगेको ‘घुमन्ते समूह’का सदस्य खिमबहादुर क्षेत्रीले बताए।

जैदी सेरोफेरोका पर्यटकीय गन्तव्य चहार्दै उनीहरु शनिबार साँझ हाँडीकोट तल ब्याडथला बास बसेका थिए। ‘यात्राको एउटा लक्ष्य सूर्योदय अवलोकन पनि थियो, साँच्चिकै त्यसले हाम्रो यात्रालाई पूर्ण बनायो’, क्षेत्रीले भने। त्यस दिन हिमाल पूरै नखुले पनि सूर्योदयले अरु थोक बिर्साइदिएको उनको भनाई छ।

पर्यटकीय लेक हाँडीकोटबाट सूर्योदय/सूर्यास्तसँगै मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भूभाग देखिन्छन्।

कुनै बेला भुरे/टाकुरे राजाले त्यस क्षेत्रबाट राज्य चलाएको इतिहासमा उल्लेख छ । जडीबुटी र वन पैदावरका दृष्टिले पनि हाँडीकोट धनी छ । दुर्लभ चरा र वन्यजन्तुको बासस्थान रहेको तथा दुई हजार १९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीयवासी बताउँछन्।

हाँडीकोट युवा क्लबका सदस्य यम पुनले सरकारी तवरबाट कुनै पनि निकायको नजर हाँडीकोटमा नपरेको गुनासो गरे। ‘यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी, शौचालय र खाजा खानेसम्म ठाउँ छैन’, उनले भने, ‘पछिल्लो समय हाँडीको चर्चा हुन थाले पनि सोअनुसार यहाँको विकासले गति लिन सकेको छैन।’ स्थानीय सरकारको रूपमा रहेको नगरपालिकाले समेत हाँडीकोटलाई बेवास्ता गरेको उनको गुनासो छ।

फोटो पत्रकार आरके अदिप्त गिरीले पर्यटनमैत्री र कलासापेक्ष ढङ्गले संरचनाहरु बनाउनुपर्ने बर्ता। जथाभावीरूपमा पूर्वाधार खडा गर्दा हाँडीकोटको प्राकृतिक सौन्दर्य नासिने खतरा पनि उत्तिकै छ।

‘माथिसम्मै सडक किन ल्याउनुप¥यो? मन्दिर, भ्यूटावरजस्ता संरचना बनाउँदा पनि मौलिकता झल्किनुपर्छ’, गिरीले भने। हाँडीकोट र नजिकै रहेको ऐतिहासिक थन्थाप माई मन्दिरलाई जोडेर पर्यटन विकासको एकीकृत गुरुयोजना बनाउनुपर्ने स्थानीयको माग छ।

विसं १८६५ मा बनेको उक्त मन्दिर जिल्लाकै प्रसिद्ध शक्तिपीठका रुपमा चिनिन्छ । हाँडीकोट ९० हेक्टर र थन्थाप माई मन्दिर १६ रोपनी क्षेत्रफलमा फैलिएको छ।

नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर हाँडीकोटमा पर्यटन विकासको काम थालिएको जनाएको छ । पदमार्ग, दृश्यावलोकन स्तम्भ, मन्दिर, होटल, सङ्ग्रहालयलगायत संरचना बनाउने योजना नगरपालिकाको छ । दृश्यावलोकन स्तम्भका लागि प्रदेश सरकारको समेत रु १५ लाख बजेट छ।

नगरपालिकाको लगानीमा पूर्व र उत्तरपट्टिबाट गरी एक किमी जति पदमार्ग पनि बनिसकेको छ । कच्ची सडक पनि नजिकै पुगेको छ । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा ब्याडथला पुग्न सकिन्छ । त्यहाँबाट पैदले हिँडे पनि एक घण्टाभित्रैमा हाँडीकोट पुगिन्छ । पूर्वाधार पनि बन्न शुरु गरेको र प्रचारप्रसार पनि हुन थालेको स्थितिमा पछिल्लो समय हाँडीकोट पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन्।

बन्दोबस्तीसहित पुग्ने कतिपय आन्तरिक पर्यटकले टापुमै ‘क्याम्प फायर’ गरेर रात बिताउँछन्। माथि नै बस्ने प्रबन्ध मिलाएकाले सूर्यास्त र सूर्योदयको अवलोकन एकै यात्रामा गर्न सक्छन्।

पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर गत वर्ष हाँडीकोट महोत्सवसमेत गरिएको थियो। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।