बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन

बैतडी, मंकोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ।

मंगलबार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए। उनले भने, ‘कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय संक्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ।’

मंसिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र सातवटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द हुने शाहको भनाइ छ। यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ।

लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ।

यस्तै लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्था, एम्बुलेन्सलगायतका सेवा पनि सञ्चालन हुने जनाइएको छ। पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ।

यसअघि जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मङ्सिर २२ सम्म लकडाउन गरेको छ। बैतडीमा हालसम्म ५६८ मा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये ४९९ ले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

रेडक्रसका सेवा बन्द
नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ। कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयलाई मंगलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले जानकारी दिए।

दशरथचन्द नगरपालिकाले मंसिर २२ गतेसम्मका लागि लकडाउन गरेकाले सोही दिनसम्म रेडक्रसले शाखामार्फत दिइने सेवा बन्द गर्ने निर्णय गरेको उनले बताए। रेडक्रस बैतडीले एक सूचना जारी गर्दै आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको हो।

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत पाण्डेयले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। आफूमा समान्य लक्षण देखिएपछि कोरोना परीक्षण गरेको र रिपोर्ट पोजेटिभ आएकाले अहिले आफू आइसोलेसनमा बसिरहेको उनले बताए। पछिल्लो एक हप्ता सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न उनले आग्रह गरेका हुन्। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।