प्रजजन केन्द्रमा हुर्काइएका गोही राप्तीमा छोडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो ।

निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको उनले बताए । ती सबै गोही राप्तीमा छोडिँदै छ । गत वर्ष ५० गोही नदीमा छाडिएको थियो । राप्ती र नारायणी नदीमा गोहीले पारेका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लग्ने गरिन्छ । ती अण्डा र प्रजनन केन्द्रका गोहीले पारेका अण्डा कोरलेर बच्चा हुर्काउने गरिन्छ । पाँच वर्षपछि ती बच्चा नदीमा छोडिँदै आएको छ । हाल छोडिएका गोही छ वर्ष उमेरका हुन् ।

सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका योसहित एक हजार ५२५ गोही विभिन्न नदीमा छोडिएका छन् । सबैभन्दा बढी ८४५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालिगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यहाँ हुर्काएर नदीमा छोडिएका गोही भारततर्फ जाने गरेका कारण नेपालका नदीमा सङ्ख्या बढ्न सकेको छैन । त्रिवेणीमा रहेको गण्डक ब्यारेजबाट भारततर्फ गएका गोही फर्किएर आउन कठिन हुने हुँदा पनि समस्या हुने गरेको छ ।

सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही मानव अतिक्रमणका कारण पनि समस्यामा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा बेरिएर बर्सेनि गोही मर्ने गरेका छन् । नदी प्रदूषित हुँदा गोहीलाई आहाराको अभाव र फोहरपानीका कारण यसको सङ्ख्या वृद्धिमा बाधा पर्ने गरेको उनको भनाइ छ । नदी छेउका शहर र उद्योगबाट उत्पादित फोहर नदीमा मिसिदा नदीमा जलीय पारिस्थितिकीय प्रणाली (वाटर इकोस्टिम) बिग्रिँदा गोही बचाउन कठिन भएको बरालले गुनासो गर्नुभयो । मनोमानी ढङ्गले नदी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्नाले पनि गोहीको बासस्थानमा खलल ल्याएको उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖