गाउँसभाबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुङ्गो लगाएको छ। गाउँपालिकाको कार्यालय रहेको मुनामा मङ्गलबार सम्पन्न गाउँसभाले वडा नं ७ को ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष थमसरा पुनले अस्पताल बनाउने ठाउँको टुङ्गो लगाइनुका साथै यसअघि छरिएर राखिएका शाखा कार्यालय एकै ठाउँबाट सञ्चालन गर्ने निर्णय भएको जानकारी दिइन्।

वडा नं ३ को सातमुलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको विसं २०७४ साउन २५ गतेको गाउँसभाले अन्य विषयगत शाखा कार्यालय वडा नं ७ र ३ बाट सञ्चालन गर्ने तथा वडा नं ७ मा पर्ने धारापानीमा १५ शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो। “तीन वर्षअघिको निर्णय संशोधन भएपछि ताकममा अस्पताल बनाउने र शाखा कार्यालय गाउँपालिका रहेकै ठाउँबाट सञ्चालन गर्ने कानूनी बाटो खुलेको छ”, अध्यक्ष पुनले भने, “यसअघि अस्पताल बनाउने निर्णय भएको धारापानीमा स्वास्थ्यचौकी बनाउने र साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीलाई छुट्टै वडा कायम गर्न प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको छ।”

शाखा कार्यालय एकै ठाउँमा नहुँदा र छरिँदा नागरिकलाई सेवा प्राप्त गर्न सास्ती, झन्झट र दुःख भएको भन्दै गाउँसभामा कार्यालय एकीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। वडा नं १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल प्रस्तावक रहेकाे उक्त प्रस्तावमा गाउँसभाका ३७ मध्ये २२ जनाले पक्षमा मतदान गरेपछि बहुमतको आधारमा पारित भएको हो। सभाको निर्णयसँगै हाल ताकमबाट सञ्चालित स्वास्थ्य, कृषि र पशु सेवा तथा शिवाङमा राखिएको शिक्षा शाखा हाल गाउँपालिकाको अस्थायी कार्यालय रहेको मुनाबाटै सञ्चालन हुने भएका छन्।

स्थायी केन्द्र कायम गर्ने क्रममा गाउँसभाले धारापानीमा १५ शय्याको अस्पताल बनाउने निर्णय गरे पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ताकममा अस्पताल बनाउने ठाउँ छनोट गरेपछि विवाद उत्पन्न भएको थियो। ठाउँको विवादले मङ्सिर १५ गतेलाई तय गरिएको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रोकिएपछि सेवा केन्द्र एकीकृत र ताकममा अस्पताल बनाउने विषयमा सर्वपक्षीय बैठकको सुझावका आधारमा गाउँसभा बोलाइएको थियो।

सर्वोच्च अदालतमा विचाराधीन रहेको गाउँपालिकाको स्थायी केन्द्रको विवादलाई थाँती राखेर नागरिकलाई एकै ठाउँबाट सहज हिसाबले सेवा उपलब्ध गराउन शाखा कार्यालय एकीकृत र अस्पताल बनाउने ठाउँ छनोट गरिएको अध्यक्ष पुनले बताइन्।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।