तीन गाउँको विवादपछि मतदानबाट टुंग्याइयो अस्पताल बनाउने ठाउँ

म्याग्दी, म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँको टुंगो लगाएको छ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नम्बर १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो।

मौवाफाँट, पिप्ले र बेगमध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा मतदान गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिइन्। गाउँसभा सदस्यको बहुमतबाट बेगमा अस्पताल निर्माण गर्ने निर्णय भएको उनको भनाई छ।

४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थिति थियो। मतदानमा सहभागी ३० मध्ये २६ जनाले बेग र चार जनाले मौवाफाँटको पक्षमा मतदान गरेका थिए। बहुमतबाट स्थान छनोट गर्ने निर्णयमा वडा नम्बर ३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्ल र तीन जना जनप्रतिनिधिले फरक मत राखेका हुन्।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मतदान प्रक्रियामा सहभागी भएनन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तहमा एक अस्पताल बनाउने निर्णय गरेको थियो। सोही कार्यक्रमअन्तर्गत रघुगङ्गामा अस्पताल भवन बनाउन लागिएको हो।

विसं २०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो।

मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्यचौकीको सूचीमा पिप्ले स्वास्थ्यचौकीलाई राखेको थियो। ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेको थिएन।

बेगको देउरालीमा अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले नौ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष बिलप्रसाद फगामीले बताए। लोकबहादुर, हिमबहादुर र मेजन फगामीले पाँच रोपनी तथा देउबहादुर, टुकबहादुर, दानबहादुर पुर्जा र जीतबहादुर गर्बुजाले चार रोपनी जग्गा उपलब्ध गराएका छन्।

गाउँसभाले वडा नम्बर ३ लाई विभाजन गरेर दुई वटा वडामा कायम गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मालिका, अक्षता, कलेजाबाङ, फूलबारी, मौवाफाँट र कुदबाङ क्षेत्रलाई समेटेर नयाँ वडा कायम गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।

त्यसैगरी गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि रघुगङ्गा नदीबाट पारि रहेका भूगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागिसमेत अनुरोध गर्ने निर्णय गाउँसभाले गरेको छ।

वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरी नयाँ गाउँपालिका माग गर्ने निर्णय भएको छ।

पाखापानीलाई दुई वडामा विभाजन गर्ने, धौलागिरि गाउँपालिकाको वडा नम्बर ५ र बेनी नगरपालिकाका–१० लाई समेत प्रस्ताव गरिएको नयाँ गाउँपालिकामा समावेश हुनका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध र समन्वय गर्ने सभाले निर्णय गरेको छ।

मौवाफाँटमा व्यवस्थापन भइरहेको जग्गामा प्रशासकीय भवन निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको छ। भवन निर्माणमा जिल्ला समन्वय समितिमार्फत रु ६० लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ।

प्रशासकीय भवन निर्माणमा प्रदेश सरकारले एक करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रु नौ करोडसम्म बजेट उपलब्ध गराउन सक्ने कार्यविधि छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।