कामदार मालिक बनेपछि….

नारायण अधिकारी
चितवन । दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थाल्नुभएका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बन्नुभएको छ । उनकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् । गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न शुरु गरेका थिए । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गरे ।

त्यसपछि उनका दुई वर्ष काठमाडौँको एशिया पब्लिकेशनमा बित्यो । यसपछिका छ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताएर सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम पुनः शुरु गरे ।चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल शुरु गरे । सुनगाभा पुस्तक पसल उनको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उनले एकल स्वामित्वको सम्पूर्ण किताब पसल खोलेका छन् । साथीसँग मिलेर थोक व्यापारका लागि काठमाडौँको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ ।

उनले भने, “भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।” यससँगै युरेका पब्लिकेशनको उहाँ एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ । सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ ।

पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर रु ५० लाखभन्दा बढी लगानी गरेका छन् । यहाँको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ । सापकोटाले भने, “पुस्तक पसलमा अहिले हेर्दा रु एक करोडभन्दा बढीका पुस्तक छन् ।”

रु एक हजार २०० मासिक पारिश्रमिक लिएर काम शुरु गर्नुभएका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् । फुर्सदको समयमा कायाकैरन दैनिक र त्यसको अनलाइन संस्करणमा समाचारसमेत लेख्ने साहित्यिक व्यक्तित्व सापकोटा जिल्लामा पठन संस्कृतिको विकासमा आफू लागेको बताउछन् । जिल्लाका लेखकको प्रकाशनको आधारसमेत बन्नुभएका सापकोटा भन्छन्, “लेखन र पठन संस्कृतिको विकासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।” के कति सकिन्छ आफू यसैमा लागिरहने उनको भनाई छ ।

मास्के पुस्तक पसलमा काम गर्दा त्यहाँ बिक्रीका लागि आएका पुस्तकको फोटो खिचेर फेसबुकमा राखेर लेखक र साहित्यकारमाझ पु¥याउने सापकोटाको पुस्तक पसलमा अहिले साहित्यकार आफैँ आउँछन् । पुस्तक व्यवसायबाटै एक भाइ र तीन बहिनीको बिहे मात्रै होइन, परिवार सञ्चालन गरेर व्यवसायसमेत बढाउन उनी सफल भएका छन् । आख्यानकार वसन्त पराजुली भन्छन्, “निरन्तरको मिहिनेत र मिजासिलो स्वभावकै कारण सापकोटा सफल हुनुभएको हो ।” कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै निरन्तर लागिरहने हो भने सफलता मिल्छ भन्ने उदाहरण बनेका छन् ३७ वर्षीय सापकोटा । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।