बादी समुदायको पीडा : न जग्गा, न काम

जाजरकोट । पुस्तौँदेखि जग्गा, जमिन र खास थातथलो नभएका बादी समुदाय पुसको चिसोले हैरान भएका छन् । नदीको किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका हुन् वा मादल बनाएर बिक्री गरी आएको पैसाले परिवार पाल्ने बादी समुदाय किन नहुन्, सबैको पीडा चिसोबाट कसरी जोगिने भन्ने नै छ ।

कुशे गाउँपालिका–५ का १४ वर्षीय रमण बादीको विद्यालय जाने उमेरमा बुवासँग माछा मार्नका लागि प्रयोग हुने जाल (पासा) बनाउँदै दिन कट्ने गरेको छ । बुवा गणेशबहादुर बादीसँग दैनिक सोही काम गर्दागर्दै पढ्न नपाएको रमणले बताए । गणेश अब पेशा परिवर्तन गर्ने सोचमा रहेको बताए। “माछा मारेर मात्र परिवार पालनपोषण गर्न निकै मुस्किल भयो, कतैबाट सहयोग पाएको भए अरु काम गर्ने थिएँ”, गणेशले भने।

उनले थपे, “जेठो छोरा भर्खरै जन्मिएको थियो माछा मार्ने कामसँगै फलामबाट भाडा बनाउनतर्फ लागियो । यो कामबाट पनि खासै केही प्रगति भएन ।” गणेशका छ छोराछोरी छन् । उनको एकतलाको खरले छाएको कच्ची घर छ । जुन घर निर्माण गरी गणेश बसिरहेका छन्, सो घर निर्माण गरेको जग्गासमेत उनको नाममा छैन । अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुनुहुन्छ ।

वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमतीको दिन बित्ने गर्छ । छिमेकीको घरमा साना छोराछोरीलाई मिठोमसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ । दुब्ला, पातला देखिने साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ, फूलमायाले भने, “गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले आधातले कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।”

फूलमायालाई छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापीकलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाए। “फलामको भाडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ”, गणेशले भने । गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य अर्का रामबहादुर बादीले पीडा पोखे । “मादल बनाउन काठ चाहिन्छ तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैन, अनि हाम्रो पेशा कसरी चल्छ”, रामले भने । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाइ छ । पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाइ छ ।

उनजस्तै कुशे गाउँपालिकामा मात्र ४१ घरभन्दा बढी बादी समुदायको बसोबास छ । कसैको पनि आफ्नो जमिन छैन । शुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारण कुशे गाउँपालिकामा आएको करिब दुई दशक बितेको छ । आफ्नो निजी जमिन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्घर्षमा रहेको बताएका छन् ।

केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएको यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । उनीहरू अब आफै आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताउँछन् । उनीहरूको इच्छा स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ । सरकारले एकतले कच्ची घर बनाउन पैसा दिए पनि अन्य जीवन जिउने आधार नदिएको उनीहरूको भनाइ छ ।

स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् बादी समुदायको माग छ । आफूहरूलाई भोट खसाल्न मात्र प्रयोगको साधन बनाइएकामा उनीहरू पीडा व्यक्त गर्छन् । “हाम्रो जीवन निर्वाहका लागि ध्यान कसैले दिँदैनन्, मात्र यो गर्छौँ, त्यो गर्छौँ भनी गफ दिन्छन्”, अर्का कालीबहादुर बादीले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।