माघे सङ्क्रान्ति पर्व नजिकिँदा थारू र मगर बस्तीमा चहलपहल

महोत्तरी । माघे सङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारू जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारू र मगर बस्तीमा तिलासक्रायत पनि भनिने माघेसङ्क्रान्ति पर्वको चहलपहल बढेको हो ।

महोत्तरीसहितका मिथिला क्षेत्रका थारू बस्तीमा यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहोमा लागेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जीलाई डाक्न थालिएको पाका थारूको भनाइ छ । “अब पवनी (पर्व) आई त हाल्यो”, चिउरा कुट्न धान भिजाउँदै गरेकी भङ्गाहा नगरपालिका–४ रामनगरको थारूटोलकी रसिया थारूले भने, “सबै कुराको जोगार (जोहो) मा लाग्नुपर्यो नि ।” पर्व नजिकिएसँगै थारू बस्तीका घरघरैजसो सर्जाम (पर्वका लागि आवश्यक वस्तु) जुटाउने चटारो बढेको रसिया बताउँछन् ।

त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेको मगर समुदायमा पनि माघेसङ्क्रान्ति पर्वको तयारी बढेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनीलाई चाडमा डाक्ने चलन छ । महोत्तरीका उत्तरी क्षेत्रका बर्दिवास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ । यसैगरी बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारू बसोबासको बाहुल्य छ ।

पर्व नजिकिँदै गर्दा थारू र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम शुरु भएको छ । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारू बसोबास बाहुल्यका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिवासको मेघरोल र रामगोपालपुर नगरपालिकाको बिश्वम्भरपुर थारू बसोबासका बस्ती हुन् ।

थारू र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ । पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्वविशेषका सामग्रीको बजार जमेको छ । महोत्तरीसहितका मिथिला क्षेत्रमा मकरसङ्क्रान्ति र तिलासक्रायत पनि भनिने यो पर्वमा खास महत्वको मानिने तिल, सक्खर (मिठ्ठा), चिउरा र मुरीको बजार बाक्लै जम्न लागेका छन् । पर्वका लागि केही दिन पहिलेदेखि नै तिल, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) लाई (सक्खरको खुँदो मिसाएर बनाइने लड्डु) बनाइने मैथिल परम्परा छ ।

तिलासक्रायत पर्वमा तिल, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाई इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । खास पर्वले चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तिल र सक्खरको मूल्य भने आकाशिएको छ । यसअघि प्रतिकिलो रु १५० देखि २०० सम्म पाइने तिल अहिले जिल्लाका बजारमा रु ३५० सम्म र सक्खर प्रतिकिलो रु १०० सम्म पुगेको बजारु उपभोक्ताले बताएका छन् ।

तिला सङ्क्रान्ति पर्व नजिकिँदै आउँदा सर्वसाधारण उपभोक्ता चर्को मूल्यमा पर्ने भए पनि महोत्तरीका तिल र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । जग्गामा तिल थोरै उत्पादन हुने हुँदा अहिले पाएको मूल्यले अन्य बालीसरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तिल उत्पादक किसान बताउँछन् । एक दशक पहिलेसम्म १०० हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तिलखेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ ।

त्यसैगरी चिनी उद्योगले समयमा भुक्तानी नदिँदा दैनिक गर्जो टार्न सकस परेको बताउने उखु किसान पर्वलाई लक्षित गरी घरघरै उखु पेलेर मिठ्ठा (सक्खर) बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा (सक्खर) को माग र भाउ दुवै बढ्दा केही राहत भएको बताउँछन् । महोत्तरीसहितका मिथिला क्षेत्रमा तिलासक्रायत पर्वमा तिल, चिउरा र मुरीलाई सक्खरमा मुछेर बनाइएको लड्डु विवाहित छोरी, चेली र मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलनले घरघरमै अहिलेदेखि नै लड्डु बनाउने काममा गृहिणीहरुको तल्लीनता बढेको छ ।

विद्यालय भवन सञ्चालन

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदहीमा विद्यालयको नयाँ भवन सञ्चालनमा आएको छ । सिमरदहीस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको नवनिर्मित भवन सोमबार एक समारोहबीच उद्घाटन भएपछि सञ्चालनमा आएको हो । चारकोठे पक्की भवन र दुईकोठे ब्लक गरी नवनिर्मित छकोठे भवनको नगरप्रमुख हरिप्रसाद मण्डल र शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख प्रतिभाकुमारी साहले सोमबार संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

नेपाल सरकारबाट प्राप्त रु ५० लाखबाट नयाँ विद्यालय भवन निर्माण भएको हो । विद्यालयको नवनिर्मित भवनले कक्षाकोठा, प्रयोगशाला र कार्यालय प्रयोजनमा सहजता ल्याएको प्रधानाध्यापक राजकिशोर चौधरीको भनाइ छ । मटिहानीस्थित भगवान् लक्ष्मीनारायण मठको नाउँमा स्थापित यो पुरानो विद्यालय भवन अभावको समस्या झेल्दै आएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।