थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न माघी मेला

राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर, १० माघ । शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ ।

नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन, गहना, रहनसहन र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ । पर्यटकीय क्षेत्र भल्कामा रहेको परम्परागत थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि सांस्कृतिक माघी मेलाको आयोजना गरिएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो ।

दुई वर्षदेखि माघीका अवसरमा वडा कार्यालयले थारु संस्कृति जगेर्ना गर्ने र सङ्ग्रहालयको प्रचारप्रसारका लागि माघी मेलाको अयोजना गर्दै आएको छ । थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ । सङ्ग्रहालय अवलोकनका लागि आउने पर्यटकका लागि थारु समुदायका संस्कृति, रहनसहन र जनजीविकासँग सम्बन्धित वस्तु राखिएका छन् । थारु समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागतरुपमा प्रयोग गर्ने वस्तु राखिएका छन् । सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्री, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिएका छन् ।

यसैगरी, हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्कीलगायतका सामानसमेत सङ्ग्रहालयमा राखिएको छ ।
लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत व्यवस्था गरिएको छ । सङ्ग्रहालयमा थारु समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, विच्छयालगायत गहनासमेत अवलोकनकर्ताका लागि राखिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष पल्टा चौधरीले बताउनुभयो ।

थारु समुदायका महिलाले लगाउने लेहङ्गा, चोली र पुरुषले लगाउने धोती, कमिज, अङ्गच्छासमेत सङ्ग्रहालयमा राखिएको उहाँले बताउनुभयो । परम्परागत नृत्य तथा संस्कृति देखाउनका लागि अलग्गै परम्परागत शैलीको घर निर्माणको कार्यसमेत गरिएको छ । भल्का थारु समुदायको परम्परागत धार्मिकस्थलका रुपमा रहेको छ । भल्कामा रहेको कुण्डमा पानी माथि उफ्रने गर्दछ । कुण्डको पानी गर्मीमा चिसो र चिसोमा गरम हुने गर्दछ । माघी सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।

माघीका बेला कुण्डको पानीले नुहाएमा चर्मरोग निको हुने जनविश्वास रहेको छ । स्वच्छ मनले भाकल गरेमा निःसन्तानले सन्तानको प्राप्ति गर्ने र मन पराएको युवतीसँग विवाह हुने स्थानीयवासीको भनाइ छ ।

सङ्ग्रहालयमा लागेको माघी मेलामा थारु कलाकारले परम्परागतसँगै आधुनिक नृत्य र गीत प्रस्तुत गर्ने कार्यलाई जारी राखेका छन । शुक्रबारदेखि लागेको मेलामा कैलाली, बाँके, बर्दियालगायत क्षेत्रमा थारु समुदायका ख्यातीप्राप्त लोकगीत गायक र नृत्यङ्गनाको जमघट लागेको छ । एकै ठाउँमा थारु समुदायको कलासंस्कृतिसँगै नृत्य हेर्नका लागि व्यवस्था मिलाइएको माघी मेला व्यवस्थापन समितिका संयोजक भागीराम चौधरीले बताउनुभयो । “हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति यहाँ युवा पिँढीलाई हेर्न र सिक्ने अवसर जुराएका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यले थारु समुदायका कला संस्कृति जगेर्ना गर्नमा मद्दत पुग्छ ।” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।